सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप छनोटः ग्वाल्लेक विजयी

२०८२ मंसिर २, ०७:०० खबर संवाददाता

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसीए कपको २२ औँ संस्करणअन्तर्गत आज भएको खेलमा ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ।

ग्वाल्लेकले थालिगडा क्रिकेट क्लबमाथि ७ रनको जित दर्ता गर्यो । जितका लागि पाएको १०९ रनको लक्ष्य पछ्याएको थालिगडा १७ दशमलव १ ओभरमा १०१ रनमा अलआउट भयो। थालिगडाका कल्पेस चन्दले २३, मुकेश चन्दले २१ र  नवीन ठगुन्नाले २० रनको योगदान गरे पनि हार टार्न सकेनन्।

ग्वाल्लेकको तर्फबाट म्यान अफ द म्याच समेत भएका तर्कराज जोशीले पाँच र गङ्गादत्त जोशीले चार विकेट हात पारे । दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा  पहिला ब्याटिङ गरेको ग्वाल्लेक १७ दशमलव ३ ओभरमा १०८ रनमा समेटियो। 

जसमा मनोज जोशीले सर्वाधिक २३ रन बनाए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी  छन्। मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५०  हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए। 

म्यान अफ द सिरिजलाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। 

गत वर्ष सम्पन्न  २१  औँ संस्करणको बिडिसीए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो।

कमेन्ट लोड गर्नुस