सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २० मा हुने

। फोटो स्रोत ।
२०७६ साउन २०, ०४:४२ खबर संवाददाता

नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० मा हुने भएको छ। एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता चुनाव गर्ने मिति तय गरेको हो। यसका साथै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ। यसअघि १७ सदस्यीय समितिको अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो। बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन्।

गोप्यरुपमा गरिएको विशेष साधारण सभाले उपाध्यक्ष ४ बाट ५ र्पुयाउने र ३ जना सचिव थप्ने निर्णय गरेको छ भने सदस्यको संख्या कम गर्ने निर्णय गरेको छ। यसअघि ९ सदस्य हुने गरेकोमा अबदेखि मात्र ७ सदस्य हुने भएका छन्।यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गर्नेछ। बाँकी रहेका एक जना मनोनयन गरिनेछ। 

यस पटकको चुनावमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। अघिल्लो कार्यकालमा पनि जीवनरामसँग हार व्यहोरेका उमेशलाल फेरि उठ्ने बताइएको छ। तर उनले आफ्नो दाबेदारीको बारेमा खुलेर बोल्नु भएको छैन। जीवनराम श्रेष्ठले पनि उमेश उठ्ने बाहिर सुनेको भए पनि खुलेर नबोलेको र सकेसम्म प्रयास सर्वसम्मतले गर्ने बताए। 

एनओसीमा मताधिकारको अधिकार भएका कुल संघहरू २७ ओटा रहेका छन् । जसमा ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, जुडोर्, याफटिङ एन्ड केनोइङ, शुटिङ, फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस