धनगढीको किङ्गफिसर स्कूलद्धारा ‘एक दिने अभिभावक तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ आयोजना
धनगढीः धनगढी-१३ स्थित किङ्गफिसर ईङ्गलिस बोर्डिङ स्कुलले शनिबार ‘एक दिने असल अभिभावकत्व तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ।
‘संस्कार सहितको शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यसहित आयोजित कार्यक्रममा अभिभावकहरूको भूमिकाको महत्व, बालबालिकाको व्यवहारिक शिक्षा, अध्ययन वातावरण सुधार र भविष्य योजना सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको विद्यालयका फाउण्डर पुष्कर पन्तले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा शिक्षा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षक क्षत्र प्रसाद ज्ञवालीले अभिभावक र विद्यार्थीलाई प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणमा उनले व्यवहारिक ज्ञान, अनुशासन, अध्ययन प्रविधि र अभिभावक–विद्यार्थी सम्बन्धमा समन्वय आवश्यक रहेको उल्लेख गरे।
विद्यालयका प्रिन्सिपल तथा आयोजक समितिले यस्ता कार्यक्रमले विद्यालय–अभिभावक–विद्यार्थीबीचको सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रम विद्यालयका फाउण्डर पुष्कर पन्तको सभाध्यक्षतामा आयोजना गरिएको हो।
उनले विद्यार्थीहरुको प्रभावकारी सिकाईका लागि उनिहरुको समस्या र भावना बुझ्न जरुरी रहेको बताए। विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षकहरुले पर्याप्त छलफलको वातावरण तयार पार्नुपर्नेमा उनले जोड दिए।