कैलाली बहुमुखी क्याम्पसमा जेनजी आन्दोलन र समसामयिक विषयमा विद्यार्थी-प्राध्यापकबिच अन्तरक्रिया
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा “जेनजी आन्दोलको राप र देशको मार्गचित्रः वर्तमान प्रभाव र भविष्यको गन्तव्य” विषयक अन्तरक्रिया गरिएको छ।
क्याम्पसमा मानविकी संकाय अन्तर्गत राजनितिशास्त्र विषय अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विषयगत प्राध्यापक र विद्यार्थीहरुबिच उक्त बहस आयोजना गरिएको राजनीति शास्त्र छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी सन्तोष रावलले जानकारी दिए।
पाठ्यक्रम सँगसँगै समसामयिक राजनीतिक घटनाहरुमा विद्यार्थीहरुलाई सचेत बनाउने उद्धेश्यले उक्त कार्यक्रम गरिएको राजनीति शास्त्र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गौरी सिंहले जानकारी दिइन्।
अन्तरक्रिया कार्यक्रममा राजनीति शास्त्रका उप–प्राध्यापक सिद्धराज पण्डित, कानुन संकायका उप–प्राध्यापक पदम पाल र आमसञ्चार तथा पत्रकारिताका शिक्षण सहायक टेकेन्द्र देउवाले समसामयिक बिषयका प्रश्नहरुको जवाफ दिँदै विद्यार्थीहरुको धारणा प्रष्ट पारेका थिए।
विद्यार्थीका प्रश्नहरु सम्वोधन गर्ने क्रममा कानून संकायका उपप्राध्यापक पदम पालले हालको परिस्थतिमा संसदीय प्रणलीको विकल्पबारे प्रश्न उठिरहेकाले त्यसमा युवा पुस्ताले गम्भीर हुनुपर्ने बताए। छोटो अवधिमा विकल्प खोज्दा त्यसले राजनितिक व्यवस्थापकीय अस्थिरता निम्तिन सक्ने जोखिम रहने उनको भनाई थियो।
“ हामीलाई चाहिएको प्रणली कस्तो हो भन्नेबारे हामी स्पष्ट हुनुपर्छ, हरेक दश वर्षमा प्रणली फेर्दै जाने हो भने त्यसले झन अस्थिरता निम्त्याउँछ” उनले भने, “प्रणली फेर्ने भन्दा पनि यस भित्रका कमजोरी र त्रुटीहरु फेर्दै सभ्य सामाजिक व्यवहार निर्माण तर्फ लाग्नुपर्छ।”
त्यस्तै पत्रकारिताका शिक्षण सहायक टेकेन्द्र देउवाले सामाजिक सञ्जाल र मूलधारका मिडिया दुबै माध्यमले सहि सुचना सम्प्रेषणमा जोड दिनुपर्ने बताए। आन्दोलन पछि पनि नेपाली मिडिया विषयकेन्द्रित हुन नसकेको उनको भनाई थियो। “हामीले मूल कुरामा प्रवेश गरेर सत्य बाहिर ल्याउने भन्दा पनि सतही कुराहरुमा अल्झिरहेको अवस्था छ” उनले भने, “ मिडिया सक्षरताको अभावमा मिथ्या सुचनाले मुख्य विषयलाई छायामा पारेको छ।”
त्यसैगरी, राजनितिशास्त्रका उपप्राध्यापक सिद्धराज पण्डीतले जनाताको निराशालाई कम गर्न संरचनागत सुधार र सुशासनमा जोड दिनुपर्ने बताए। “ प्रदेश सरकारप्रतिको निराशा कम गर्न पारदर्शीता हुनुपर्छ र कार्यकर्ता भर्ति गर्ने प्रवृत्ति हटाउन आवश्यक छ” उनले भने, “बरु स्थानीय सरकारलाई बलियो बनाउन अझ बढी अधिकार प्रत्यायोजन गर्न सकिन्छ।”
कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बहसमा मुख्य सहजकर्ताका रुपमा राजनितिशास्त्र छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी सन्तोष रवल, सातौ सेमेष्टरमा अध्ययनरत सागर वोगटी र चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी सरिता भट्ट रहेका थिए ।