मानसिक उमेरले जनाउँछ, सोच्ने क्षमताको वास्तविक स्तर
धनगढी: सामान्यतया मानिसको उमेर जन्म मितिका आधारमा तोकिन्छ, तर वास्तविक बौद्धिक क्षमता भने ‘मानसिक उमेर (Mental Age)’ बाट झल्किन्छ।
मनोवैज्ञानिकहरूका अनुसार मानिसको सोच्ने, बुझ्ने र निर्णय गर्ने क्षमता उसको वास्तविक उमेरसँग सधैँ मेल नखान सक्छ।
फ्रान्सेली मनोवैज्ञानिक अल्फ्रेड बिनेट र थियोडोर साइमोन ले सन् १९०५ तिर पहिलोपटक मानसिक उमेरको अवधारणा अघि सारेका थिए। उनीहरूले विकसित गरेको बिनेट–साइमोन परीक्षण पछि विश्वभरका विद्यालय र मनोवैज्ञानिक मूल्यांकनमा प्रयोग हुँदै आएको छ।
मापनका लागि सामान्य सूत्र यस्तो प्रयोग गरिन्छः-आइक्यू = (मानसिक उमेर ÷ वास्तविक उमेर) × १००
यो सूत्रका आधारमा आइक्यू (बौद्धिक गुणांक) १०० भन्दा माथि भएका व्यक्ति औसतभन्दा तेज र ७० भन्दा तल भएका व्यक्ति मानसिक रूपमा कमजोर ठहरिन्छन्।
मनोविज्ञानका विज्ञहरूको भनाइमा बालबालिकाको मानसिक विकास उसले पाएको शैक्षिक वातावरण, पारिवारिक सहयोग र सामाजिक व्यवहारसँग गहिरो सम्बन्ध राख्छ। सकारात्मक वातावरण र निरन्तर सिकाइले मानसिक उमेर वृद्धिमा सहयोग पुर्याउँछ भने नकारात्मक सोच, तनाव र उपेक्षाले यसको वृद्धि अवरुद्ध गर्न सक्छ।
शिक्षा विज्ञ डाक्टर रजनी थापाका अनुसार, 'मानसिक उमेर केवल मापनको कुरा होइन, यो बच्चाको भविष्यका सम्भावनासँग प्रत्यक्ष जोडिएको सूचक हो।'
हाल नेपालका केही विद्यालय र मनोवैज्ञानिक परामर्श केन्द्रहरूले विद्यार्थीहरूको मानसिक उमेर परीक्षण गर्न थालेका छन्। यसले सिकाइको स्तर बुझ्न र प्रत्येक बालबालिकाको क्षमताअनुसार शिक्षण पद्धति विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कुनै पनि व्यक्तिको शारीरिक उमेरअनुसार नै मानसिक उमेरमा नहुने विज्ञले बताएका छन्। व्यक्तिको उमेर कम भए पनि उसको मानसिक उमेर निकै भिन्न हुन सक्छ। कुनै १५ वर्षीय किशोर/किशीरीको मानसिक उमेर ३० वर्ष या सो भन्दा बढी हुन सक्छ। यो कुरा उसको मानसिक क्षमताको अध्ययनबाट थाहा हुने विज्ञले बताएका छन्। उनीहरूले युवा र युवतीले विवाह गर्दा उमेर मात्रै नहेरेर दुबैको मानसिक उमेरसमेत हेर्नुपर्ने बताएका छन्। केटा र केटीको मानसिक उमेरबिच तालमेल मिलाएर विवाह गरे सम्बन्ध विच्छेद जस्ता घटना नहुने मनोवैज्ञानिकहरूले बताएका छन्।