शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारबाही हुने: मन्त्री पुन
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
मन्त्री पुनले गम्भीर ध्यानाकर्षण गराउँदै भनेका छन् कि यदि कोही आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण वा शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालयको शान्ति विपरीत क्रियाकलापमा संलग्न पाइएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिनेछ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीत क्रियाकलाप गरेको पाइएमा मन्त्रालयले कानून बमोजिम कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदछ।”
मन्त्री पुनले स्पष्ट पारेका छन् कि शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन। उनले भनेका छन्, “कुनै पनि पेशागत ऐनले सेवामा कार्यरत व्यक्तिलाई पेशागत हकहित वा अधिकारको लागि सौदावाजी बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अनुमति दिएको छैन। यदि राजनीतिक गतिविधिमा संलग्न पाइएमा पदबाट वर्खास्तसम्मको कानुनी कारबाही हुनसक्ने व्यवस्था छ।”
साथै, मन्त्री पुनले शिक्षक, प्राध्यापक र कर्मचारीका संघ सङ्गठनहरूलाई गैर–राजनीतिक, स्वतन्त्र र व्यवसायिक बनाउने उद्देश्यसहित पुनर्गठन गर्न आह्वान पनि गरेका छन्। उनका अनुसार, मन्त्रालयले यसअघि राजनीतिक गतिविधिमा संलग्न संघ सङ्गठनलाई मान्यता नदिने निर्णय गरेको छ।