कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
काठमाडौँः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।
उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो।
आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो। पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए।
आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए। विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए। त्यसपछि उनी २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए।
उनी विसं २०६७ को पार्टीको १२औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए। स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए। उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो। पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन्।