सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवासी नेपालीलाई मतदान अधिकार दिने कानुनको मस्यौदा अन्तिम चरणमा

२०८२ कार्तिक २१, ०२:३७ खबर संवाददाता

काठमाडौँ:  विदेशमा रहेका नेपाली नागरिकलाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान अधिकार दिने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको छ।

निर्वाचनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा निर्वाचन आयोगले आफ्नो राय गृह मन्त्रालयमा पठाइसकेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आयोगको राय, अर्थ तथा परराष्ट्र मन्त्रालयको सुझावपछि अध्यादेशलाई अन्तिम रूप दिई आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिने तयारी भइरहेको छ।

मस्यौदामा विदेशमा रहेका नेपालीलाई अस्थायी मतदाता नामावली तयार गर्ने, नेपाली कूटनीतिक नियोगमार्फत मतदान गर्ने, र मतदानको गोपनियता सुनिश्चित गर्ने व्यवस्था समावेश गरिएको छ। यसअघि सर्वोच्च अदालतले ०७१ मा प्रवासी नेपालीलाई मतदान अधिकार दिन सरकार, संसद् र निर्वाचन आयोगलाई परमादेश जारी गरेको थियो।

कुल मतदातामध्ये करिब ३० प्रतिशत प्रवासी नेपाली रहेका छन्, जसमा भारतबाहेक २३ प्रतिशत पर्दछन्। प्रवासी नेपालीलाई मतदान अधिकार दिने विषय लामो समयदेखि राजनीतिक बहसमा रहेको छ, र हाल अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाइने तयारी भइरहेको छ।

कमेन्ट लोड गर्नुस