सुदूरपश्चिममा नेपाल प्रिमियर लिगको ट्रफी टुर टीकापुरबाट सुरु
धनगढीः सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर टीकापुरबाट सुरु भएको छ। कैलालीको टीकापुर स्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट शुक्रवार ट्रफी टुरको सुरुवात गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी टुरको सुरुवात गरे। उनले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए । उनले ट्रफी टुरलाई सफल बनाउन सबैले सहयोग गर्नेमा आफू आसावादी भएको समेत बताए ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर टीकापुरबाट हुनु टीकापुरका लागि गौरवको कुरा भएको बताए । उनले ट्रफी टुर सफल बनाउन आफूले सक्दो सहयोग गर्ने बताए ।
कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुख्खड, मसुरीया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरिया लगायतका स्थानमा ट्रफी टुर र्याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।
ट्रफी टुरको सुरुवात गर्ने क्रममा स्थानीयहरूले थारु संस्कृति झल्किने किसिमका विभिन्न झाँकीहरू समेत प्रदर्शन गरिएका थिए । सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ । एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि सुरु हुँदै छ ।