सुदूर नेपाललाई विश्वसँग जोड्दै

नौ वर्षसम्म पनि बनेन दार्चुलाको महाकाली नगरपालिकाको भवन

२०८२ कार्तिक १७, ०३:१४ खबर संवाददाता

दार्चुलाः दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न सकेको छैन। यहाँका दुई नगरपालिका र सात गाउँपालिका गरेर नौ वटा स्थानीय तहमध्ये सदरमुकामको नगरपालिकाले मात्रै आफ्नो भवन निर्माण गर्न नसकेको हो।

शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छन् भने बाँकी छ वटा गाउँपालिकाले भवन निर्माण गरेर कार्यालयसमेत सञ्चालन गरिसकेका छन्। गाउँपालिका स्थापनाकै वर्ष २०७४ सालमा नौगाड गाउँपालिकाले पहिलो पटक आफ्नै भवन निर्माण गरेको थियो भने पछि विस्तारै अन्य स्थानीय तहले समेत आफ्नै भवन निर्माण गरेको अवस्था छ ।

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका हाल निजामती कर्मचारी आवासको भवनबाट सञ्चालनमा छ। २०७५ सालमा पाँच वर्षका लागि आवासको भवन प्रशासकीय भवन सञ्चालनका लागि नगरपालिकाले लिने सम्झौता गरेको थियो ।

सम्झौताको म्याद २०८० भदौमा सकिएपछि त्यसयता थप एक वर्षका लागि म्याद थप गरिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले जानकारी दिए। थप गरिएको एक वर्षको म्याद २०८१ भदौ २३ गते सकिएको भए पनि नगरपालिका सोही भवनमार्फत सञ्चालनमा छ।

नगरपालिका स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न नसक्नु दुःखद भएको यहाँका स्थानीयको भनाई छ । नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जग्गा उपलब्ध नहुँदा भवन निर्माण गर्न नसकिएको बताईन्। “भवनको डिपिआर तयार गरेका छौँ, जग्गा उपलब्ध हुनेबित्तिकै निर्माण कार्यको थालनी हुन्छ,” उनले भनिन्। 
 

कमेन्ट लोड गर्नुस