जेन–जी आन्दोलनले गरेको क्षतिको पुनर्बिमा दाबी १६ अर्ब
धनगढीः गत भदौ २३ २४ गते भएको जेन–जी आन्दोलनका कारण आएको क्षतिको पुनर्बिमा दाबी १६ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुगेको छ। सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) ले हुलदंगा तथा आतंकवादसम्बन्धी जोखिम एक्लैले धारण गर्ने नीति अनुसार यो दाबी पाएको हो।
निर्जीवन बिमा कम्पनीहरूमा कुल २३ अर्ब २३ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको ३ हजार १ सय ८७ दाबी परेकोमा, नेपाल रिले १६ अर्ब बराबरको २ हजार ८ सय ६८ दाबी पेस गरेको तथ्यांक छ। कम्पनीहरूले बिमितलाई करिब २ अर्ब ७९ करोड अग्रिम भुक्तानी गरिसकेका छन् भने नेपाल रिले पनि १ अर्ब ९९ करोड अग्रिम भुक्तानी गरेको छ।
बिमा प्रणालीअनुसार कम्पनीहरूले जोखिमको ३५ प्रतिशत आफूसँग राख्छन् र बाँकी ६५ प्रतिशत नेपाल रि मार्फत पुनर्बिमा गर्छन्। जेन–जी आन्दोलन अन्तर्गत ठूलो दाबी (१० करोडमाथि) मा शतप्रतिशत दायित्व नेपाल रि को हुन्छ।
अन्तिम भुक्तानी भने सर्भेयर प्रतिवेदन आएपछि मात्रै हुनेछ, तर बिमितलाई तत्काल राहत दिने उद्देश्यले अग्रिम भुक्तानी जारी गरिएको हो।