सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहरी स्वास्थ्य केन्द्र पाल्पाको भवन उद्घाटन

। फोटो स्रोत ।
२०७६ साउन १८, ०२:२९

पाल्पा जिल्लाको रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ। नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए। नगरपालिकाको रु ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो।

दुई वर्षसम्म कृष्णादेवी माविको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह बढाउने सोच बनाएको केन्द्रका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष ताराबहादुर थापाले बताए। प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाको लगानीमा निर्माण भएको पहिलो भवन रहेको बताउँदै सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न अनुरोध गरे।

स्थानीय हुमबहादुर कुमालले तीन वर्ष अघि रु ३२ लाख पर्ने एक रोपनी जग्गा भवन निर्माणका लागि उपलब्ध गराएपछि भवन बनेको हो। यस केन्द्रमा हाल एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी छन्। भवन अभावमा तोकेका सेवा दिन नागरिकलाई समस्या परेको बताउँदै अब पूर्वाधार पर्याप्त भएपछि सजिलोसँग सेवा दिन पाइने अहेव तिलकराम सोतीले बताए।

भवन अभावमा परिवार नियोजन, खोप सेवा तथा परामर्शजस्ता सेवा दिन झमेला परेको स्वास्थ्यकर्मी बताउँछन्। यस भवनबाट जनशक्ति थप भएमा प्रसूति सेवा सञ्चालन गर्न सकिनेछ। रासस

कमेन्ट लोड गर्नुस