गेटा आँखा अस्पतालको बेलौरीमा आँखा शिविर, सात सयभन्दा बढीको उपचार
धनगढीः नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा, जेको फाउण्डेशनको सहयोगमा मिति २०८२ कार्तिक ८ र ९ गते महाकाली माध्यमिक विद्यालय, बेलौरीमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरमा ७१७ जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन्।
शिविरका क्रममा १२३ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरी दृष्टि पुनः प्राप्त गराइएको छ भने ५९४ जनालाई निःशुल्क औषधि उपचार सेवा प्रदान गरिएको छ। आर्थिक अभावका कारण वा अस्पतालसम्म पुग्न नसकेका बिरामीका लागि यो शिविर अत्यन्तै लाभदायी भएको बताइएको छ। तीमध्ये धेरै जना लामो समयदेखि दृष्टिविहीन जीवन बिताइरहेका थिए।
गेटा आँखा अस्पतालका प्रमुख चिकित्सा निर्देशक डाक्टर सुरेशराज पन्तको नेतृत्वमा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टसहित १४ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो। शिविरको सफल सञ्चालनमा नेपाल नेत्रज्योति संघ कैलालीका पदाधिकारी, महाकाली मावि बेलौरीका शिक्षकहरू र स्वयंसेवक विद्यार्थीहरूले सक्रिय सहयोग पुर्याएका थिए।
गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा अन्धोपन न्यूनीकरणका लागि निरन्तर काम गर्दै आएको छ। अस्पताल अन्तर्गतका ९ वटै जिल्लामा रहेका २९ शाखाहरूबाट नियमित उपचार सेवासँगै हरेक वर्ष सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा ५० भन्दा बढी स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।
यस निरन्तर प्रयासको फलस्वरूप सन् १९८१ मा १.०२ प्रतिशत रहेको अन्धोपन दर सन् २०२१ सम्ममा घटेर ०.२१ प्रतिशतमा झरेको छ। यस उपलब्धिले सुदूरपश्चिम प्रदेशलाई देशकै सबैभन्दा कम अन्धोपन दर भएको प्रदेश बनाएको गेटा आँखा अस्पतालले जनाएको छ।