सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रशासन कार्यालय अगाडि आरक्ष पीडितद्वारा धर्ना

२०८२ कार्तिक ११, ०२:३२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा आरक्षपीडितहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पुनस्र्थापनाको मागसहित धर्ना सुरु गरेका छन्। आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढी आरक्षपीडित परिवारले प्रशासन अगाडि पाल टाँगेर अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

यहाँको कृष्णपुर नगरपालिकास्थित शंकर सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरूलाई सामुदायिक वन र प्रशासनले हटाएपछि आइतबार राति नै उनीहरू महेन्द्रनगर पुगेका थिए।

दुई दशकदेखि सरकारले पुनस्र्थापना गर्ने भन्दै दिएको झुटा आश्वासनले थाकेका आरक्षपीडितहरूले प्रशासन अगाडि धर्ना बसेका हुन्। उनीहरूले त्रिपाल, कपडा, खाद्य सामग्री बोकेर प्रशासन अगाडि अस्थायी टहरा बनाएका छन्। चिसो समयमा भुईँमा पराल बिछ्याएर सडक किनारामा रातदिन धर्ना बसिरहेका उनीहरूले वर्तमान सरकारले पुनस्र्थापना गरी न्याय दिनुपर्ने माग गरेका छन्।

आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाका अनुसार विगतका सरकारले पटक–पटक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि समस्या भने ज्यूँका त्य्यूँ रहेको छ। यहाँका नेताहरूले पटक–पटक झुटा बोल्दै धोका दिएको बताउँदै रोकायाले अब अन्तिम लडाइँका लागि प्रशासन अगाडि टहरा बनाएर आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो। उहाँले चाँडोभन्दा चाँडो समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

आरक्षपीडितहरूले विगतमा आफूहरू बस्दै आएको स्थानमै पुनस्र्थापना गरिनुपर्ने माग गरेका छन्।

त्यस्तै, खाना पकाउनका लागि बाल्टिनमा पानी भर्दै गरेकी आरक्षपीडित अमृता नेपालीले तीन छोराले भारतमा मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको बताउनुभयो। नेपाल सरकारले आफूहरूका मागहरूलाई पटक–पटक बेवास्ता गर्दै आएको गुनासो पनि गरे।

त्यसैगरी, आरक्षपीडित हंस ओडले १८ वर्षदेखि पुनस्र्थापनाको माग गर्दै धर्ना बस्दै आएको बताउनुभयो। गरिबमाथिका कलङ्कहरूले झुटा आश्वासन दिएर माग सम्बोधन गर्नुको साटो बेवास्ता गर्दै आएको आरोप उहाँले लगाए।

हाल जिल्लामा २४ सय ७३ परिवार विस्थापित रहेका छन्। तीमध्ये दुई सयभन्दा बढी परिवार महेन्द्रनगर पुगेर धर्नामा बसेका छन् भने केही ढक्का चानदेव र अन्य स्थानहरूमा कष्टकर जीवनयापन गर्न बाध्य छन्। सरकारले माग सम्बोधन नगरे अब झन् कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन्।
 

कमेन्ट लोड गर्नुस