सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई उद्धार नगरिँदा दार्चुलामा सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर, शिशुको पेटमै मृत्यु

२०८२ कार्तिक ११, १०:२१ खबर संवाददाता

दार्चुलाः लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनलाई सोमबार रातिदेखि सुत्केरी व्यथा लागेपछि अत्यधिक रक्तस्राव भएको परिवारजनले बताएका छन्।

शीतललाई राति नै गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा ल्याइएको थियो। स्वास्थ्यकर्मी कविता पोख्रेलका अनुसार प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया अघि बढाइएको थियो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले हवाई उद्धार लागि पत्र मार्फत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग औपचारिक रुपमै अनुरोध गरिसकेको थियो।

'हेलिकप्टरको तयारी भइरहेको थियो, तर बीचमै बिरामीको अवस्था केही सुधार भएको बताएपछि रेफर रोकिएको थियो, पोख्रेलले भनिन्, 'त्यसपछि केही घण्टामै उनले बच्चा जन्माइन्, तर दुर्भाग्यवश शिशुको पेटमै मृत्यु भइसकेको थियो।'


सुत्केरी लावडको अवस्था फेरि जटिल बनेपछि उनलाई गोकुलेश्वर अस्पताल रेफर गरिएको र त्यहाँबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको शीतलका पति भास्कर लावडले बताए। उनले अत्यधिक रक्तस्राव भएकोले थप उपचार गर्न गोकुलेश्वर अस्पतालबाट डडेल्धुरा पठाइएको बताए। तर, थप उपचारका लागि पैसा नहुँदा समस्या भएको लावडले बताएका छन्।

डडेल्धुरा अस्पतालमा बिरामीलाई भर्ना गरिए पनि चिकित्सकले भनेको औषधी खरिद गर्न आफूसँग पैसा नभएको भास्करले बताए। 'अहिले डडेल्धुरा अस्पतालमा बिरामीलाई भर्ना गरेको छु। डाक्टरले औषधी ल्याउन पर्ची दिएका छन् तर किन्ने पैसा छैन। हामी अति विपन्न छौँ। खर्च औषधी कसरी किन्ने भनेर भौतारिएको छु,' लावडले भने।

हेलिबाट उद्वार गर्ने प्रक्रिया पूरा भइसके पनि त्यहाको स्वास्थ्यकर्मीले बिरामीको अवस्था सामान्य भन्दै हेलिकप्टर बोलाउन अस्वीकार गरेकाले शिशुको ज्यान जानुको साथै सुत्केरीको स्वास्थ्य अवस्था जटिल भएको लावडले बताए।

कमेन्ट लोड गर्नुस