सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विदेशी पर्यटक भित्र्याउन महँगो हवाई भाडा ‘डलर फेयर’ पनि बाधक

२०७६ साउन १७, ०६:३९ नवराज पनेरु

सुदूरपश्चिममा विदेशी पर्यटक भित्र्याउनका लागि आन्तरीक वायुसेवा कम्पनीहरूले लिने महँगो हवाई भाडा अर्थात डलर फेयर पनि बाधक बनेको छ। भारतीय र नेपाली नागरिक बाहेक अन्य कुनै पनि देशका पर्यटकहरुले हवाई सेवा प्रयोग गर्दा आन्तरीक वायुसेवा कम्पनीहरूले महँगो हवाई भाडा लिने गरेका कारण सुदूरपश्चिममा धेरै विदेशी पर्यटक आउन नसकेका हुन्। भारतीय र नेपाली नागरिकहरुको भन्दा विदेशी पर्यटकले झन्डै पाँच गुणा बढी हवाई भाडा तिर्नुपर्ने बाध्यता रहेको छ। अहिले काठमाडौँ–धनगढी हवाई भाडा न्यूनतम तीन हजार पाँच सय सम्म पुग्ने गरेको छ तर विदेशी पर्यटकहरुले भने दुई सय २२ डलर अर्थात २५ हजार भाडा तिरेर काठमाडौँबाट धनगढी पुग्नुपर्ने बाध्यता रहेको छ। 

महँगो हवाई भाडा भएकै कारण काठमाडौं ओर्लिने पर्यटक सुदूरपश्चिम नआउने समस्या बढ्दै गएको पर्यटन बोर्डका सदस्य कृष्णवहादुर महराले बताए। ‘आन्तरिक उडानमा भएको यस्तो प्रचलन संसारमा अन्त कतै पनि छैन्,’ उनले भने, ‘नेपालमा डलर फेयर हुँदा यस्को प्रत्यक्ष असर सुदूरपश्चिमको पर्यटन विकासमा पनि परेको छ, यस्ले सरकारलाई कुनै फाईदा भने गरेको छैन्।’ सुदूरपश्चिममा दैनिक उडान नीजि विमान कम्पनीले मात्रै भर्दै आएकाले डलर फेयर नीजि विमान कम्पनीलाई पोस्नकै लागि लागु गरिएको आरोप पनि उनको छ। विदेशी भएकै कारण वायु सेवा कम्पनीहरूले आन्तरिक रुटमा लिने हवाई भाडा नै महङगो हुन थालेपछि पर्यटकहरुमाथि विभेद पनि भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय गन्तव्य भएपनि विदेशी पर्यटकहरुको रोजाईमा नपरेपछि उनीहरु नआउनुको कारण डलर फेयर नै त होईन भन्ने आशंका समेत व्यक्त गरिएको छ। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाका अनुसार सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भएपनि विदेशी पर्यटकहरु भने निकै न्यून आउने गरेकोले त्यस्को कारण खोजी हुन आवश्यक छ। अहिले हप्ताको तीन दिन मात्रै नेपाल एयरलाईन्सले काठमाडौँ–धनगढी–काठमाडौँ उडान भर्दै आएको छ भने नियमित उडान भर्ने सबै विमान कम्पनी नीजि मात्रै छन्। जस्ले गर्दा डलर फेयर अर्थात महङगो हवाई भाडाले सरकारलाई पनि कुनै फाईदा पुगाएको छैन्। अधिकांशले डलर फेयर र पूर्वाधार नै सुदूरपश्चिमको पर्यटन विकासमा बाधक रहेको बताउँदै आएका छन्। 

तर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगतको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने डलर फेयर हटाउनका लागि पटक–पटक पहल भएको बताए। ‘डलर फेयरले पर्यटकलाई काठमाडौँ बाहेकका अन्य पर्यटकीय क्षेत्रमा जान समस्या भईरहेको छ,’ उनले भने, ‘एउटै हवाई सेवामा फरक–फरक भाडाको नीति राम्रो होईन्।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस