पर्यटकको गन्तव्य बन्दै रानीसैन
बाजुरा: जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने रानीसैन पछिल्लो समय पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । चारैतिर हिउँको घुम्टोले सज्जिएको डाँडा र बिचमा समथल र निकै आकर्षित रहेको हिमाली गाउँपालिका–३ मा पर्ने रानीसैनमा पछिल्लो समय यहाँ आउने गरेका आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न पुगेको हो।
रानीसैन घुम्न अहिले यहाँ जिल्ला तथा जिल्ला बाहिरदेखि पर्यटक आउने गरेका छन् । बझाङको साईपाल र मानसरोवर जान रानीसैनबाट नजिक पर्छ । यहाँ बाह्रै महिना चिसो हुन्छ।
यो निकै सुन्दर र आकर्षक स्थान मानिन्छ । चारैतिर अग्ला हिमाल, बिचमा समथल र सुन्दरताले भरिएको यो ठाउँमा रमाउन आउने गरेका आन्तरिक तथा बाह्य पर्यटकहरू निकै लाभान्वित हुने गरेका छन्।
जिल्लाको मात्र नभई यो देशकै एक उत्तम पर्यटकीयस्थलको रूपमा पनि लिन सकिन्छ। यो ठाउँमा अहिलेसम्म स्थानीय सरकार बाहेक अन्य कुनै सरकारको ध्यान पुगेको देखिँदैन्।
एक स्वर्गको टुक्राजस्तो देखिने रानीसैन पर्यटकका लागि निकै रमणीय ठाउँ मानिएको छ। रानीसैन पर्यटकका लागि निकै रमाइलो रहेको बुढीगङ्गा नगरपालिका–१० का युवा तथा समाजसेवी राजेन्द्र जोशीले बताए।
उहाँले भन्नुभयो, “आफु बाजुराकै भए पनि म यो ठाउँमा कहिल्यै पुगेको थिएन। यतिबेला यो ठाउँमा पुगेपछि मलाई त्यो ठाउँ स्वर्गकै टुक्रा महसुस भएको छ।”
म वैशाखको टन्टलापुर घाममा त्यहाँ पुगेको हुँ। तर त्यहाँ हिउँ समेत पग्लेको थिएन। रानीसैनको चारै तिरको अग्ला डाँडामा बाक्लो हिउँ जमेकोले यसो हेर्दा ती डाँडा सेतो घुम्टोमा बेहुली सज्जिएजस्तै देखिन्छ, उहाँले भने।
रानीसैनको संरक्षण प्रवर्धन गर्ने हो भने हिमाली गाउँपालिकाका स्थानीयलाई मात्र नभई यसले सिङ्गो जिल्लावासीलाई समेत आर्थिक टेवा पुग्ने सम्भावना छ। अछामको साँफेबगरदेखि मार्तडीसम्म झण्डै ५७ किलोमिटर दूरी छ । त्यसपछि मार्तडीदेखि कोल्टी ४२ कोल्टीदेखि रानीसैनसम्म झण्डै ३५ किलोमिटरको दूरीमा पर्छ, रानीसैन।
रानीसैन बाजुरा, हुम्ला र बझाङको बिचमा अवस्थित छ। यहाँ प्रत्येक वर्ष बाजुरा र हुम्लाका बौद्ध धर्मावलम्बीहरूको मेला लाग्छ। यहाँ ठुलो गुम्बा छ। यसको व्यवस्थापनका लागि हिमाली गाउँपालिकाले प्रत्येक वर्ष दुई लाख रुपियाँ छुट्याउने गरेको छ।
यो ठाउँ झन्डै चार हजार चार सयदेखि पाँच हजार मिटरको उचाइमा छ। यहाँ चारैतिर ठुला हिमाल छन्। ती हिमालको फेदीमा रानीसैन छ । यसलाई बाजुराको उपत्यका पनि भनिन्छ । चारैतिर डाँडा अर्थात् सेता हिमाल र त्यसमुनि फैलिएको रानीसैन समथल छ।
यो ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने हो भने जसरी राराले मुगुलाई चिनाउँछ, त्यसै गरेर रानीसैनले पनि बाजुरालाई चिनाउन सक्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए।
पहिले त्यहाँ पुग्ने बाटो थिएन। पछिल्लो समय यहाँको हिमाली गाउँपालिकाले यहाँ जाने गोरेटो बाटो निर्माण गरेसँगै अहिले यो ठाउँमा पर्यटकको चहलपहल बढ्ने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सके यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने स्थानीयको विश्वास छ।