एनएसपिएलमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्दै
धनगढीः कात्तिक १५ गतेदेखि हुन लागेको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने भएको छ। देशभरका सातै प्रदेशबाट आउने ७ वटा टोलीहरुमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डरले प्रतियोगितामा सहभागिता जनाउने भएको हो।
खप्तड सुदूरपश्चिम थन्डरका टीम मालिक अरुण भण्डारीले प्रतियोगितामा आफ्नो टिमले प्रतिष्पर्धा गर्न लागेको जानकारी दिए। मंगलवार कैलालीको गोदावरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने बताए। ‘देशभरबाट ७ वटा टीमहरु प्रतियोगितामा भिड्नेछन्, जसमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर रहेको छ’ उनले भने ‘प्रतियोगितामा सुदूरपश्चिमलाई हामीले प्रतिनिधित्व गरिरहेका छौँ, सबैको साथ र सहयोगको अपेक्षा लिएका छौँ।’
टेनिस बलबाट खेलाइने टि–१० फरम्याटको प्रतियोगिता देशमै पहिलो पटक आयोजना हुन गैरहेको छ। काठमाडौँको डिजिआर स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको सो प्रतियोगितामा सहभागिता जनाउने टिमहरुले केही दिन अघि मात्रै अक्सन मार्फत खेलाडीहरु खरिद गरेका छन्।
खप्तड सुदूरपश्चिम थन्डरका मालिक भण्डारीले अक्सनमार्फत आफूहरुले सन्तुलित टिम निर्माण गरेको बताए। उनले सुदूरपश्चिमको टिममा सुदूरपश्चिमकै खेलाडीहरुको वर्चस्व रहेको समेत बताए। ‘हामीले टिममा अक्सनमार्फत सुदूरपश्चिमकै खेलाडीहरु खरिद गरेका छौँ’ उनले भने ‘१६ जनाको स्क्वाडमा १२ जना खेलाडी सुदूरपश्चिमका छन, जसले यहाँका टेनिस बल खेलाडीहरुको खेलप्रतिको मनोबल पनि बढाएको छ।’
खप्तड सुदूरपश्चिमको टिम मेनेजरका रुपमा विक्रम बिष्ट रहेका छन भने ब्रान्ड एम्बेसडरका रुपमा साइकल यात्री भरतविक्रम शाह रहेका छन्। खप्तड सुदूरपश्चिम थन्डरको मुख्य खेलाडीका रुपमा राष्ट्रिय टोलीका पूर्वखेलाडी मेहबुब आलम रहेका छन्। भण्डारीले देशभरका विभिन्न गल्ली तथा टोलहरुमा टेनिस बलबाट क्रिकेट खेलिने गरेको भएपनि व्यावसायिक नहुँदा समस्या हुने गरेकोमा प्रतियोगिताले टेनिस बलबाट क्रिकेट खेल्ने खेलाडीहरुमा नयाँ उत्साह थपेको बताए। उनले गल्लीमा क्रिकेट खेल्ने खेलाडीहरुले स्टेडियममा पुगेर क्रिकेट खेल्न पाउनु गौरवको कुरा भएको बताए। उनले प्रतियोगिताका कारण आउँदा दिनमा क्रिकेट खेलाडीहरु बढी उत्पादन हुने समेत विश्वास व्यक्त गरे।
कार्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता काठमाण्डौस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले अक्सन मार्फत ७ लाख ३५ हजारमा खेलाडीहरु खरिद गरेको छ। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुने प्रतियोगितामा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।