महेन्द्रनगरस्थित विपिनको घरमा सन्नाटा
धनगढीः मङ्गलवार बिहान ११ बजे हामी महेन्द्रनगरस्थित विपिन जोशीको घरमा पुग्दा उनको घरमा केही आफन्त जम्मा भएका थिए। भीमदत्त–३ मालिकार्जुन टोलमा विपिन जोशीको एक तले पक्की घरको वरण्डामा आफन्त जम्मा भएका थिए।
विपिनका बुवा घरभित्र थिए भने विपिनको ठूलो बुवाको छोरा किशोरचन्द्र जोशीलाई विभिन्न ठाउँबाट फोन आइरहेको थियो। दुई वर्षदेखि छोरा बेपत्ता भएको पीडा सहन गरिरहेको घरमा उनका बुवा बोल्न नसक्ने अवस्थामा थिए भने आफन्तहरू पनि विपिनको अवस्थाबारे कुनै कुरा नबोल्ने पक्षमा देखिन्थे।सोमबार मात्रै हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको थियो।
घोषणाअनुसार नै हमासले चार जनाको शव रेड क्रसमार्फत इजरायली सेनालाई हस्तान्तरण गरिसकेको छ।हमासले निकालेको विज्ञप्तिमा विपिनको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको भए पनि विपिनको परिवार भने यो कुरा पत्याउने पक्षमा छैन।राष्ट्रियदेखि अन्तर्राष्ट्रिय समाचार माध्यम फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेको विवरण सार्वजनिक भएका छन्।
तर विपिनको परिवारले भने विपिन अझै जीवित रहेको आशा मारेको छैन।हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिसकेको छ। तर विपिनको मृत्यु भएको होला भन्ने विश्वास उनको बुवा र आफन्तले गरेका छैनन्।सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र “सिक र कमाउ“ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए।
यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए। २०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए। हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए।
सँगै रहेका घाइते साथीलाई जोगाउन सफल भएका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो।विपिनको जन्म २०५७ मा बैतडीको तत्कालीन विजयपुर गाविस हालको पुर्चौडी नगरपालिका–१० मा भएको थियो। विपिनका बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुन्। आमा पद्मा र बहिनी पुष्पा विपिनको रिहाइ गर्न आवश्यक पहल गर्ने भन्दै अमेरिकामा छन्।
डिएनए परीक्षणको पर्खाइमा जोशी परिवार हमासले सोमबार विपिनसहित चार जना मृतक बन्धकको शव इजरायली सेनालाई हस्तान्तरण गरेको भनिए पनि विपिनको परिवार भने उनी जीवितै रहेको आशामा बसेको छ। विपिनको शव बुझाएको समाचारलाई परिवारले पत्याउन सकेको छैन। डिएनए परीक्षणबाट विपिनको विषयमा आधिकारिक टुङ्गो नलाग्दासम्म विपिनको विषयमा अहिलेसम्म आएको समाचार पत्याउन नसकिने विपिनका दाइ नाता पर्ने गौरीदत्त जोशीको भनाइ छ।
उनले विपिन जिउँदै रहेको र जसरी घरबाट गएको थियो त्यसरी नै विपिन फर्केर आउने आशा अझै जीवितै रहेको बताए। डिएनए परीक्षणको नतिजा नआउँदासम्म सञ्चार माध्यमका समाचार पत्याउने पक्षमा आफूहरू नरहेको जोशीको भनाइ छ।किशोरचन्द्र जोशी र विपिनका बुवाले आधिकारिक प्रतिक्रिया दिन मानेका छैनन्। परिवारमा परेको बज्रपातले जोशी परिवार बोल्न नसक्ने अवस्थामा पुगेको छ। विभिन्न व्यक्ति र समाचार माध्यमबाट आउने फोन कल र थरी थरीका समाचारले उनीहरूलाई थप तनावमा पारेको विपिनका दाजु नाता पर्ने गौरीदत्त जोशीले बताए।