कैलाली–कञ्चनपुरका किसानलाई धान भित्र्याउन चटारो
धनगढी : कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउन चटारो छ। दसैँ सकिएपछि किसानलाई धान भित्र्याउन चटारो भएको हो।
किसानहरुलाई धान काट्न, थ्रेसिङ गर्न भ्याइनभ्याई भएको छ। दसैँको बेला नै धान पाकेर खेत पहेँलपुर बनेको थियो। तर, दसैँलगत्तै पानी परेपछि केही दिन धान भित्र्याउन समस्या भएको किसानहरू बताउँछन्। अहिले मौसमले साथ दिएपछि धान काट्ने, भित्र्याउने काम धमाधम गरिरहेको कैलालीका किसानले बताएका छन्।
नेपालमा जुन १३ मा मनसुन प्रवेश भई अक्टोबर २ तारेखमा बाहिरिने गर्दछ। यसवर्ष सरदर मितिभन्दा १५ दिन अघि नै जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन सुदूरपश्चिमबाट अक्टोबर ८ तारेखमा मात्र बाहिरिएको थियो। मनसुन बाहिरिए लगत्तै पोष्ट मनसुन अवधि सुरु भई पश्चिमी र स्थानीय वायुको सक्रियताले पानी परेपछि किसानलाई धान भित्र्याउन समस्या भएको थियो।
अब मौसममा सुधार भएको र तत्काल पानी पर्ने सम्भावना नरहेकाले किसानलाई धान भित्र्याउन सहज हुने जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए। मनसुन ढिलोगरी बाहिरिएका कारण धान पाकेको खेतमा अझै पानी जमेको किसानले बताएका छन्। पानी जमेकाले धान भित्र्याउन अझै सकस रहेको उनीहरूको भनाइ छ। काटेको धान बोकेर उकालो ठाउँमा थ्रेसिङ गर्ने गरेको उनीहरूको भनाइ छ।
अन्न भण्डार मानिने कैलालीमा ९१ हजार हेक्टर कृषियोग्य जमिन छ। जसमध्ये यसवर्ष ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सो कार्यालयका अनुसार गतवर्ष यहाँ प्रतिहेक्टरमा ३.४ मेट्रिक टनको दरले धान फलेको थियो। यसवर्ष उत्पादन केही बढ्ने सम्भावना रहेको टेक विष्टले बताए।