सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्ष फेरिए, बाल्यकालको याद ताजै रह्यो

२०८२ असोज १४, १०:४६

सुदर्शन भट्ट: हामी वर्षको गणना गर्दै प्रत्येक सुरुवातदेखि अन्तिम चरणसम्मका तिथिमिति, चाडपर्व, मेला, जात्रा, महोत्सवहरूको प्रतीक्षामा बसिरहेका हुन्छौँ। अब यो पर्व आउँछ। अब त्यो चाडबाड आउने समय हो। मौसम परिवर्तन हुने बेला आयो" भन्ने पर्खाइमा रमाउँछौँ। तर, त्यही क्रममा हाम्रो उमेर पनि बढ्दै गएको हामी सोच्दैनौँ।

बाल्यकालका इच्छा–आकाङ्क्षा बिस्तारै घट्दै जान्छन्। सानो हुँदा गरिने जिद्दी, आमाबुबालाई सताउने क्रियाकलाप, दिनभर डुल्ने, बेलुका घर फर्केर चहलपहल गर्ने सब कुरा अहिले सम्झँदा गजबको लाग्छ। अब भने आफ्नै चाहनाहरू घट्दै जान्छन्, कतिपय त मार्नैपर्ने हुन्छ। जीवनमा सबै कुरा हुँदाहुँदै पनि के–के कुरा छुटे जस्तो, हराए जस्तो आभास हुन्छ। आत्मा एक्लो भएको अनुभूति हुन्छ।

जिन्दगीमा "अब के गर्ने? कसरी गर्ने?" भन्ने भविष्यको चिन्ताले निरन्तर सताइरहन्छ। सुनौलो भोलिको सपना आँखा भरी साँचेर त्यसैका निम्ति समय सोच्दै बिताइन्छ।

यो अस्थायी जीवनमा हामी स्थायीको खोजीमा लाग्छौँ। क्षणिक हो भन्ने थाहा हुँदाहुँदै पनि स्थायित्वको चाहना पलाउँछ। बाल्यकालमा बिताएका साथी–संगीसँगका मीठा पलहरू स्मृतिमा ताजै हुन्छन्, भेटघाट र दूरीले टाढा भए पनि सम्झँदा नजिकै भएको आभास हुन्छ।

सानोपनमा चाडपर्व आउँदा नयाँ लुगा–कपडा किन्ने, आफन्तसँग भेटघाट गर्ने, पैसा कमाउने, घुम्ने, घरमा मिठा–मिठा भोजन खाने सोचले मन हर्षित हुन्थ्यो। तर अहिले त्यस्तो माहोल आउँदैन। आउने भने केवल जिम्मेवारी, भविष्यको चिन्ता र जीवन कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विचार मात्रै। चाडबाडमा नयाँ किन्ने, सबै आवश्यकता पूरा गर्ने चाहना पनि बिस्तारै हराउँदै जान्छ।

समयसँगै सोच, जिम्मेवारी बढ्दै जान्छन्। काम, पढाइ र भविष्यका चिन्ताले गर्दा बाल्यकालका रमाइला यादहरू छायामा पर्दै जान्छन्। स्वतन्त्रता र सरलता पहिलेजस्तो सहजै पाइँदैन।

तर पनि, ती बाल्यकालका बिताएका अविस्मरणीय पलहरू अत्यन्तै यादगार हुन्छन्। अन्ततः न ती दिनहरू फर्कन्छन्, न त आवश्यकताहरू घट्छन्। ती सबै खुशी खोज्दै गर्दा समयले नेटो काट्दै लैजान्छ, अनि हाम्रो उमेर पनि बढ्दै जान्छ।

कमेन्ट लोड गर्नुस