सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका खसी–बोका महेन्द्रनगरमा

२०८२ असोज १३, ०५:५९ खबर संवाददाता

कञ्चनपुर : दसैंको लागि डडेल्धुराबाट दुईसय बढी खसीबोका बिक्री गर्न महेन्द्रनगर ल्याइएका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का ११ जना स्थानीयहरूले दुईसय बढी खसीबोका बिक्रीका लागि महेन्द्रनगरमा ल्याएका हुन्।

परशुराम नगरपालिका–८ जोगबुडाका जयबहादुर बोहरा खसीबोकासहित दुई दिनको पैदल यात्रागरी शनिवार महेन्द्रनगर बजार पुगेको बताए। परशुरामस्थित जोगबुडाबाट आफुले पालेका र अन्तबाट किनेकासहित उनले ४० खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका हुन। हिन्दु धर्मावलम्बीको महान् चाड दसैँको लागि उनले खसीबोका बिक्री गर्न महेन्द्रनगर पुगेको बताए।

विगत १५ वर्षदेखि खसीबोकाको कारोबार गर्दैआएका उनी यस वर्ष भने सोचेअनुरूप दररेट र कारोबार नहुने भन्दै चिन्तित छन्। विगत २–३ वर्षयता खसीबोकाको कारोबार घट्दोक्रममा रहेको उनले बताए। । “१५ वर्षदेखि महेन्द्रनगरमा खसिबोका बिक्री गर्न आउनेगरेको छु, उनले भने, ‘दुई–तीन वर्षयता भारतबाट समेत खसिबोका ल्याइँदा कारोबार घट्दै गएको छ।”

बोहरासँगै परशुराम नगरपालिका–८ का गणेश जाग्रीले पनि यस वर्ष ३७ खसीबोका बिक्रीका लागि महेन्द्रनगर आएका छन्। सस्तो मूल्यमै खसीबोका दिनुपरेको उनले सुनाए। यसैगरी परशुराम नगरपालिका–८ सानखोलाका सुरे टमाटाले पनि यस वर्ष ३५ खसीबोका बिक्रीका लागि महेन्द्रनगर बजारमा ल्याए।

खसीबोका राख्न उचित स्थान नहुँदा सडक छेउ, खुला चौरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए। सडकछेउमै रातदिन बसेर खसीबोका राखेका उनीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन्। ३६ खसीबोका बिक्रीका लागि ल्याएका डम्बर बोहराले प्रतिकेजी ५ सयदेखि ६ सयका दरले बिक्री गर्दै आएको बताए।

भारतबाट ल्याएका खसीबोका कम मूल्यमा बिक्री गर्न थालेपछि आफूहरूले पनि यस वर्ष कम दाममा बिक्री गर्नुपरेको उनले बताए। शनिवार महेन्द्रनगर पुगेका उनीहरूले खसीबोका राख्ने उचित वासस्थानको अभाव हुँदा सडक छेउमै बास बस्नुपर्ने अवस्था रहेको बताएका छन्।

खसीबोकाको कारोबार गर्दै आएका जयबहादुर बोहराले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल नजिकको सडक छेउमा खसीबोका राखेर बिक्री गर्दैआएको बताए। स्थानीय सरकारले आफूहरूलाई उचित स्थान छुट्याइदिएमा सहज हुने उनीहरूले बताएका छन्।

व्यवसायीहरूले खसीबोकाको कारोबार गरेर चाडपर्व र वर्षभरिको खर्च धान्दै आएको बताएका छन्। चाडपर्वको बेला टाढा लगेर पनि खसीबोका बिक्री गरी घर खर्च चलाउँदै आएको उनीहरू बताउँछन्।

 

कमेन्ट लोड गर्नुस