टीकापुरमा संरक्षणकर्मीद्धारा गोहीको बच्चाको उद्धार
टीकापुर: कैलालीको टीकापुर नगरपालिका–९ रैनाबोझी झरनाबाट मगर गोहीको बच्चाको उद्धार गरिएको छ।
स्थानीयले रैनाबोझी झरनामा गोहीको बच्चा फसेको जानकारी दिएपछि संरक्षणकर्मी भोजराज ढुङ्गानाले त्यसको उद्धार गरेका हुन्। उद्धार गरेर ल्याएको गोहीको बच्चालाई आज टीकापुर नगरपालिका–७ बैदी, डल्फिन संरक्षणस्थित पथरैया नदीमा सुरक्षित रुपमा छोडिएको ढुङ्गानाले बताए।
उनका अनुसार उद्धार गरिएको गोहीको बच्चा यसै वर्षको हो। डेढ मिटर लम्बाइ रहेको बच्चा अब प्राकृतिक वासस्थानमा पुगेपछि खतरा नरहेको ढुङ्गानाले बताए।
पथरैया, काढा, मोहना नदीमा मगर र घडियाल गोहीको बसोबास छ। यस क्षेत्रमा प्राकृतिक रुपमै गोहीले बच्चा कोरल्ने गरेका कारण गोहीको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ।