थेगिम–सनलाइट जेभीले प्रमुख जिल्ला अधिकारी लम्साललाई टेरेन
धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, वडाध्यक्षहरू, पूर्वाधार कार्यालय, कैलालीका इन्जिनियर जनक रोकाया लगायतको सहभागितामा थेगिम–सनलाइट जेभी र तेडी निर्माण सेवासँग सडक निर्माणको काम सुरु गर्ने कागज बनाइयो। एड्भेन्चर–थेगिम–सनलाइट जेभीको तर्फबाट अनिता पन्त, नविन पन्त र नारायण कडेलले कागजमा हस्ताक्षर गरेका छन्।
गोदावरी नगरपालिकाका नगर प्रमुख भट्ट, वडाध्यक्षहरू र स्थानीय नागरिक आन्दोलित भएपछि जिल्ला प्रशासनमा काम सुरु गर्ने २०८२ भदौ २३ गते कागज बनाइएको हो। तर, थेगिम-सनलाइट जेभी सम्पर्कमा आएको छैन।
सङ्घर्ष समितिका संयोजक विक्रम विकले थेगिम–सनलाइट जेभी सम्पर्कमा नआएको बताए। उनले भने, ‘आन्दोलनको चरणमा २/४ ट्रिप गिट्टि फाल्यो। अहिले सम्पर्कमा आएको छैन। केही दिन फेरि पर्खन्छौँ। काममा फर्कियो भने, ठिक छ। फर्किएन भने पूर्वाधार विकास कार्यालय र सिडिओ सापसँग कारबाहीका लागि भन्ने छौँ।’ प्रमुख जिल्ला अधिकारी लम्साललाई थेगिम–सनलाइट जेभीले नटेरेको उनीहरूले बताएका छन्।
गोदावरी नगरपालिका–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता भएको थियो। सम्झौताको समय अवधिसमेत २०८१ असार २५ मा सकिएको थियो। पूर्वाधार कार्यालय, धनगढीले २०८३ असार २० गतेसम्मका लागि थेगिमलाई समय थप गरेको छ। सडक निर्माणको काम आधा पनि नगरेको निर्माण कम्पनीलाई फेरि समय थप गरिएको हो।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा कैलालीको गोदावरी नगरपालिका–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र पारिएपछि नगर प्रमुखसहित वडाध्यक्षहरू आन्दोलित भएका थिए। थेगिम/सनलाइट जेभीले साढे २ किलोमिटर सडक अलपत्र पारेको उनीहरूले जिल्ला प्रशासन कार्यालय, कैलालीमा लिखित कागज बनाएका छन्। तर, लिखित कागज कार्यान्वयन नभएको हो। सङ्घर्ष समितिका सह–संयोजक पदम गिरीले निर्माण कम्पनीहरूको लापरबाहीले जनताले दुःख पाएका बताए।
पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको थियो। तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो। तर, उक्त खण्डको सडक निर्माणको पनि आधा पनि भएको छैन। तेडी निर्माण सेवाले भने काम थालेको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीमा भएको सहमतिका आधारमा तेडी निर्माण सेवाले काम थालेको हो। निर्माण कम्पनीहरूले १५/१५ दिनमो प्रगति जिल्ला प्रशासन कार्यालय, कैलालीमा दिनुपर्ने छ। स्थानीय कृष्ण विकले आन्दोलनका क्रममा कागज बनाएको बताए। १५ दिनमा प्रतिवेदन दिने भनेको बताए। तेडी निर्माणले काम सुरु गरेपनि थेगिम सम्पर्कमा नआएको उनले बताए।
चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई प्रदेश सरकारले कुनै कारबाही समेत गर्न सकेको छैन। पूर्वाधार कार्यालय, कैलालीले पटक–पटक सडक निर्माणको काम गर्न आग्रह गर्दै आएको बताएका छन्। तर, कानुनी प्रक्रियामा भने, पूर्वाधार कार्यालय, कैलाली गएको छैन।