मनोसामाजिक अपाङ्गता भएका ४२ जनाले पाए परिचयपत्र
धनगढीः ४२ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन् । कोशिश नेपालले आज धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिएको हो।
परियोजनाको सहयोगमा उनीहरुले परिचयपत्र प्राप्त गरेको कोशिश नेपालकी सुदूपश्चिम प्रदेश संयोजक बसन्ती शाहीले जानकारी दिईन। एक जनाले रातो कार्ड पाएका र २ जनाले निलो कार्ड पाएको उनको भनाइ छ। ‘एक सय जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु स्वरोजगार भएका छन्’ उनले भनिन् ‘कुनै तरकारी खेतीमा आवद्ध छन् भने कोही मोटरसाइकल मर्मतमा आवद्ध भएर काम गरिरहेका छन्।’
सुदूरपश्चिममा जम्मा १ सय ९७ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुमध्ये १ सय ५२ जना संस्थाको सम्पर्कमा रहेको उनले बताइन्। अन्य ४५ जना भने आफ्नो रोजगारी गरी बसेका उनले बताइन्।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र तथा सामाजिक सुरक्षाको सुविधा प्रदान गर्ने, पक्रियालाई सरल तथा सहज बनाउन सरोकारवालाहरुको ध्यानाकर्षण हुने खालका समाचारहरुमा सञ्चारकर्मीले जोड दिनुपर्ने उनले बताइन्।
उनले यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षणका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका समस्याहरुको बारेमा समाचार,कथा तथा फिचरहरु प्रकाशन गर्न परियोजनाको माग रहेको बताइन्।
समाहित परियोजना समाप्ति पश्चात पनि मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताको सवाल निरन्तर उठाइ सरोकारवाला निकायहरुमा दवाव सिर्जना गर्नुपर्ने माग पनि रहेको उनको भनाइ छ।
राष्ट्रिय अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेश सचिव नरदीप धामीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुको क्षमता विकास र स्वरोजगार बनाउनमा लागिरहने प्रतिवद्धता जाहेर गरे।