सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढ्दा यात्रुहरू मारमा

२०८२ असोज ३, ०५:२१ खबर संवाददाता

धनगढीः काठमाडौँ–धनगढी उडानमा न्यूनतम मूल्यका हवाइ टिकट पाउन छोडिएपछि यात्रुहरू मारमा परेका छन्।

केही दिनयता विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेका छन्। सामान्य अवस्थामा साढे सात हजार रुपैयाँसम्ममा पाइने टिकट अहिले १२ हजार रुपैयाँभन्दा कममा उपलब्ध छैन।

शुक्रबार आजका लागि काठमाडौँ–धनगढी उडानमा अनलाइनमार्फत केही सिट १४ हजार ३ सय रुपैयाँमा देखिएको छ भने अधिकांश टिकट १६ हजार ७८९ रुपैयाँमै बिक्रीमा छन्। यता धनगढी–काठमाडौँ फर्किने उडानमा भने अधिकांश टिकट ६ हजार आठ सय ९८ रुपैयाँमै सीमित गरिएको देखिन्छ। यो रुटमा अहिले २–३ दिन पछिसम्म पनि १२ हजार रुपैयाँभन्दा कम मूल्यको टिकट अनलाइनमा देखिएको छैन।

यात्रुहरूका अनुसार जेन–जी आन्दोलनका कारण देशभर कफ्र्यु आदेश जारी हुनु, सवारीसाधन ठप्प हुनु र चाडपर्व नजिकिँदै यात्रुको चाप बढ्नुले विमान कम्पनीहरूले न्यूनतम मूल्य हटाएर अधिकतम मूल्यमा मात्र टिकट बेच्न थालेका छन्। धनगढी निवासी खगेन्द्र साउँद भन्छन्, “अरुबेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने तर चाडपर्वका बेला नमिल्ने भन्ने कुराले मनपरी पुष्टि गर्छ।

स्वास्थ्य समस्याका कारण बाध्यतावश यात्रा गर्नुपर्ने हामीजस्ता यात्रु ठगिएका छौँ।”सरकारी निकाय मौन बसेको भन्दै यात्रुहरूले गुनासो गरेका छन्। उनीहरूको आरोप छ — नियामक निकायको कमजोर उपस्थितिको फाइदा उठाउँदै कम्पनीहरूले चाडपर्वको मौका छोपेर मनपरी मूल्यमा टिकट बिक्री गरिरहेका छन्।

धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहका अनुसार अहिले काठमाडौँ–धनगढी रुटमा दैनिक ८ उडान सञ्चालनमा छन्। तीमध्ये श्री एयरलाइन्सले ६ र बुद्ध एयरले २ उडान गरिरहेका छन्। श्री एयरलाइन्सले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्ने गरेको छ। काठमाडौँसँग सिधा उडान हुने सुदूरपश्चिमको यो एकमात्र विमानस्थल भएकाले यात्रुको चाप पनि उच्च हुने गरेको छ।
 

कमेन्ट लोड गर्नुस