सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

२०८२ असोज ३, ०३:५६ खबर संवाददाता

धनगढी: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ।

उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए।

उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ। २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार चार सय २५ र जिरा मसिनो चामल प्रतिबोरा दुई हजार ७५ रुपियाँमा उपभोेक्ताले खरिद गर्न पाउने जनाइएको छ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी एक सय रुपियाँ पर्ने चिनी पाँच रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिरहेको जनाइएको छ। थापाले कैलालीसहित सुदूरपश्चिम प्रदेशको २८ ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गरेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस