सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विरुवा उत्पादन र वितरणमा आर्थिक अनियमितता

२०७६ साउन १३, ११:३० कमल सावद

कैलालीमा विरुवा उत्पादन र वितरणमा आर्थिक अनियमिता भएको आरोप लागेको छ। आर्थिक हिनामीनाको आरोप लागेपछि बाह्र वन साझेदारी वनलाई विरुवा वितरणमा नै रोक लगाइएको छ। उक्त वनमा विरुवा नर्सरी निर्माण तथा उत्पादनमा आर्थिक हिनामीना भएको आरोपमा वितरणमा रोक लगाइएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा ३६ लाखको नर्सरी निर्माण र विरुवा उत्पादनमा आर्थिक हिनामिना भएको आरोप लागेपछि विरुवा वितरण गर्न रोक लगाइएको बाह्र वन साझेदारी वनका अध्यक्ष ठक्कर बिक्रम शाहीले बताए। केहि फलफुलको विरुवा मात्र वितरण गरिएको उनले बताए। उनले भने, ‘मन्त्रालयले छानविन समिति बनाएको छ, समितिले आर्थिक अनियमितताको बारेमा छानविन गर्दै गरिरहेको छ।’ छानविनकै कारण तत्काल विरुवा वितरण गर्न नसकिएको शाहीले बताएका छन्। 

कैलालीमा प्रत्येक वर्ष लाखौँ लगानी गर्दै विरुवा उत्पादन र वितरण गरिदै आएको भएपनि उपलब्धी भने शुन्य जस्तै भएको छ। प्रत्येक वर्ष विरुवा वितरण गर्दै विभिन्न निकायबाट वृक्षारोपण भएपनि त्यसको उपलव्धी शुन्य रहेको हो। बाह्र वनका अध्यक्ष शाहीले वनले वितरण गरेको विरुवाको अवस्थाको बारेमा कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए। डिभिजन वन कार्यालयले वितरण गर्ने विरुवाको अवस्थाको बारेमा पनि उनीहरु अनभिज्ञ छन्।  वृक्षारोपणका लागि विभिन्न निकायले दौडधुप गरेपनि संरक्षणमा सबैले वेवास्ता गर्दै आएका छन्। 

पहिले रोपिएका विरुवाको अवस्थाको बारेमा डिभिजन वन कार्यालय पनि अनभिज्ञ छ। दीर्घकालीन सोच बिना हचुवाका भरमा विरुवा वितरण गर्दै आएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा १४ लाखको लगानिमा डिभिजन वन कार्यालय कैलालीले १५ लाख विरुवा वितरण गरेको दावी गर्दै आएको छ।

१३ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको दावी गरिएको छ। सामुदायिक, राष्ट्रिय, निजी वन, विभिन्न संघ–संस्था तथा कृषकहरुलाई विरुवा वितरण गरिएको हो। बकाइनो, मसला, सिरिस, पिपल, सिसौ, खयर, राजवृक्ष, गुलमोहर, खयर, सिसम लगायतका विरुवा डिभिजन वन कार्यालय कैलालीले वितरण गरेको सूचना अधिकारी भीम ढकालले बताए। उनले भने, ‘प्रत्येक वर्ष वृक्षारोपणको कार्यक्रम अनुसार यो वर्ष पनि १५ लाख विरुवा किसान, संघ–संस्था, सामुदायिक वनलाई वितरण गरेका छौ। उनीहरुले कुन क्षेत्रमा वृक्षा रोपण गरेका हुन, त्यो तथ्याङ्क डिभिजन वन कार्यालयसंग छैन्।’ दश वर्षको अवधिमा कैलालीमा पाँच सय ५७ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०६५/०६६ देखि गत आर्थिक वर्ष २०७५/०७६ सम्म कैलालीमा पाँच सय ५६ दशमलव ९१ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। यो अवधीमा छ करोड बढि बजेट खर्च भएको छ। विरुवा खरिद तथा ढुवानी, ज्यामी खर्च, तारवार लगायतमा डिभिजन वन कार्यालयले रकम खर्च गर्ने गरेको छ। एक हेक्टर वन क्षेत्रमा वृक्षारोपण गर्दा एक लाख बजेट खर्च लाग्ने अनुमान छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस