चोरी भएका सामान फिर्ता गर्न कैलाली भन्सार कार्यालयको आग्रह
धनगढी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा कैलाली भन्सार कार्यालयको भवनमा आगजनी र तोडफोड भयो।
सोही समयमा भन्सार कार्यालयमा रहेका विभिन्न सामानहरू चोरी तथा लुटपाट भएका थिए। भन्सार कार्यालयमा रहेका मोटरसाइकल लगायतका सामान चोरी भएकाले फिर्ता गर्न भनिएको छ। भन्सार कार्यालयको प्रशासनिक भवन र कर्मचारी आवास गृहमा आगो लागेका बेला चोरी गरिएका सामान फिर्ता गर्न सूचना अधिकारी खेम प्रसाद अर्यालले आग्रह गरेका छन्। उनले भने, ‘सामान्य आन्दोलन मात्र थिएन। घुसपैठ भयो। चोरी गर्ने नियतले नै मान्छे यहाँ आए। कार्यालयमा मुद्दाका रूपमा दाखिला भएका दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे गाडीहरू चोरी भएका छन्। हामी तथ्याङ्क बनाउदै छौ। ठुलो सङ्ख्यामा चोरी भएका छन्।’
कैलाली भन्सार कार्यालयसहित फर्निचर, कम्प्युटर, कागजपत्र जलाइएको छ। कार्यालयमा आगो लागेको समयमा केही युवाहरू भन्सार कार्यालय भित्र नै प्रवेश गरेका थिए। उनीहरूले भेटाएको सर–सामानहरू चोरी गरेको छन्। भारतबाट भन्सार छली गरेर ल्याएका सामान कार्यालयको गोदाममा राख्ने गरिएको छ। सोही सामान लुटपाट तथा चोरी भएको हो। प्रदर्शनका क्रममा चोरी भएका सामान आफै फिर्ता गर्नेहरूलाई कारबाहीसमेत नगर्ने भन्सार कार्यालयले बताएको छ। उनले भने, ‘धेरै टाढाकाले लग्नु भएको छैन। यहाँ नजिककाले लग्नु भएको छ। कसैले बहकाउमा लिनु भयो होला, कसैले केही होला। उहाँहरूले बझाउनु भएन भने चोरी नै भन्ने हो। आफै बुझाउनका लागि आग्रह गर्दछु।’
कैलाली भन्सार कार्यालयको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेको थियो। सशस्त्र प्रहरीको ब्यारेकसँगै जोडिएको कार्यालयमा आगजनी गरिएको समयमा नै चोरी भएको हो। तर, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चोरी भएको समयमा तस्विर तथा भिडिओ मात्र खिचेका छन। भन्सार कार्यालयका कर्मचारीहरूले पनि भिडिओ बनाएका छन्। सोही भिडिओहरूका आधारमा चोरी भएका सामान फिर्ता गर्न लगाइने भएको छ। चोरीका सामान आफै फिर्ता नगर्नेहरूलाई कानुन बमोजिम कारबाही गरिने भएको छ। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेम प्रसाद अर्यालले भने, ‘चोर्ने नियतका साथ युवाहरू भन्सार कार्यालयमा आएका बताए। हामीसँग भिडिओहरू छन्। हामीहरू जम्मा गर्दैछौ। हामी अनुसन्धानमा छौ। लग्नेहरूलाई लज्जित हुन सक्छ। हामीले भिडिओ सार्वजनिक गर्नु भन्दा पहिला सवारी बुझाउनु होला।’
भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सेवा सुचारुसमेत गरिएको छ। भन्सार कार्यालय खुल्ला भएसँगै चोरी भएका सामानसमेत फिर्ता आउन थालेका भन्सार कार्यालयले बताएको छ।