सुमना श्रेष्ठले गरिन रास्वपा छोडेको घोषणा
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
लगातारको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेकी हुन्। 'कहिल्यै गल्ती नस्विकार्ने, गल्तिमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने अवस्था देखेर म दिक्क भइसकेकी छु। आलोचना गर्नेहरूलाई उल्टै मिडिया ट्रायल गर्ने प्रवृत्ति अस्वीकार्य छ,' सुमनाले लेखेकी छन्।
उनका अनुसार पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्ने प्रवृत्ति देखाएपछि आफूले लगातार आलोचना गर्दै आएकी थिइन्। तर त्यसको परिणाम उल्टै आफूलाई लक्षित गरेर ‘मिडिया ट्रायल’ हुने भएकाले अन्ततः पार्टी छाड्ने निर्णय लिएको उनले स्पष्ट पारेकी छन्।
राजनीतिक नेतृत्वप्रति प्रश्न उठाउँदै सुमानाले कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूलाई पनि आत्मसमीक्षा गर्न आह्वान गरेकी छन्। उनले भनिन्, 'आजको परिस्थिति आउनुमा तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बहेराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।'
सुमनाको राजीनामासँगै रास्वपाको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पार्टीले यसबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन।