सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जनजीवन सामान्य बन्दै

२०८२ भदौ २८, ०२:४२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ।

स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। प्रशासनले अत्यावश्यक सेवा, कार्यको लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न दिएको छ।

त्यस्तै, अवस्थालाई मध्यनजर गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, साँझ ७ बजेदेखि ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने छ। प्रशासनले तीन जनाभन्दा बढी समूह बनाएर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ।

नवपुस्ता (जेनजी) आन्दोलनको कारण उत्पन्न असहज परिस्थितिले जनजीवन कठिन बनेको थियो। यसैगरी, परिस्थितिलाई थप बिग्रिन नदिन र शान्ति सुरक्षा कायमका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो समय विस्तारै अवस्था सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रशासनले कर्फ्यु खुकुलो बनाएपछि मान्छेको निर्बाध आवतजावत भएको थियो। धनगढीका पसल, नास्ता पसल तथा होटेलहरू खुल्न थालेका छन्। छोटो दुरीका सार्वजनिक सवारीसमेत सञ्चालनमा आएका छन्।

 

कमेन्ट लोड गर्नुस