प्रदर्शनका क्रममा लगिएका सामान फिर्ता गर्न गोदावरी नगरपालिकाको आग्रह
कैलालीः कैलालीको गोदावरी नगरपालिकाले नगरपालिकाबाट जेनजीको प्रदर्शनका क्रममा लगिएका सामान फिर्ता गर्न आग्रह गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै जेन जीको प्रदर्शनका क्रममा नगरपालिकाबाट लगएका सामान फिर्ता गर्न आग्रह गरेको हो।
सूचनामा जेनजीको प्रदर्शनका क्रममा भएको आगलागी तथा तोडफोडबाट कार्यालयका प्राय सबै भौतिक संरचना र अधिकांश महत्वपुर्ण कागजात, कम्प्यूटर, उपकरण लगायतका सामानहरु जलेको अवस्थामा रहेको बताईएको छ । यस्तै सो सामानहरु नागरिकको सेवा तथा सूचनासँग पनि प्रत्यक्ष रुपमा जोडिएको नगरपालिकाले जनाएको छ ।
‘आगजनी पश्चात पनि पुनः यस कार्यालयमा बचेका केही मेसिनरी तथा अन्य कागजात एवम् सामग्रीहरु हराएको तथा कार्यालय परिसरभित्र रहेको स्थानबाट नियतवश, आवेश, लहलहै वा तकालिन मनोविज्ञान समेतका कारण जानअन्जानमा कसैले बोकेको र अन्यत्र लगेको पनि हुन सक्ने अनुमान गरिएको छ’ जारी सूचनामा भनिएको छ ‘उक्त सामग्रीहरु र कागजातहरु यस कार्यालयको दैनिक सेवा प्रवाहसँग मात्रै सिमित नभई आम नगरबासीहरुलाई जुनसुकै समयमा पनि उपलब्ध गराउन सकिने अभिलेख र सूचनासँग पनि प्रत्यक्ष रुपमा जोडिएका थिए ।’
उक्त सामानहरुले नगरपालिकाबाट हाल अवरुद्ध भएका आधारभुत सेवाहरुलाई पुनः सञ्चालन गर्न सकिने भएकाले नगरपालिकाबाट लगिएका सामानहरु फिर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ । साथै उक्त सामानहरु फेला परेको वा कतै सुरक्षित अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए कार्यालयमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।