उपत्यकाबाहिरबाट बख्तरबन्द गाडी काठमाडौँमा भित्र्याइयो
काठमाडौँमा हाल ठूलो संख्यामा सेना परिचालन गरिएको छ। विशेषगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास र निर्मल निवास वरपरको क्षेत्रमा सेनाको उपस्थिति अत्यन्तै बाक्लो देखिन्छ। अत्यावश्यक सेवाका सवारीसाधनलाई समेत कडा निगरानीसहित मात्र आवतजावत गर्न दिइएको छ। सडक आवागमन पूर्ण रूपमा रोकिएको छ र कर्फ्यु लागू गरिएको छ। यसैबीच, सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार गठन र प्रधानमन्त्री नियुक्तिको विषयमा छलफल भइरहेका बेला उपत्यकाबाहिरबाट पनि थप सुरक्षाफौज काठमाडौँ भित्र्याइँदै छन्।
साथै सेनाका बख्तरबन्द गाडीहरू पनि उपत्यकाबाहिरबाट काठमाडौँ ल्याइँदै छन्।
नेपाली सेनाले हेटौँडा मार्ग हुँदै ठूलो संख्यामा सेतो रङका बख्तरबन्द गाडीहरू काठमाडौँ पठाइरहेको छ। साथै काभ्रेको पाँचखाललगायत उपत्यकाबाहिर रहेका विभिन्न ब्यारेकहरूबाट पनि ठूलो संख्यामा सेनाको बल काठमाडौँ केन्द्रित गरिएको छ।