कैलालीमा जारी कर्फ्यू यथावत
कैलालीः कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्ला भरि कर्फ्यू आदेश जारी गरेको छ। जिल्लाका केही स्थानहरूमा उत्पन्न अस्थिर सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको आदेशमा शुक्रबार अपराह्न ३ बजेदेखि कफ्र्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यु अर्को सूचना जारी नभएसम्म लागू हुनेछ। आदेश अनुसार तीन जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ।
तर अत्यावश्यक सेवा तथा कार्यका लागि सीमित समयमा आवतजावत गर्न पाइने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी लम्सालले आदेश उल्लंघन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन्। सुरक्षा निकायहरूलाई कफ्र्यु कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ।
जिल्ला प्रशासनले सबै नागरिकहरूलाई संयमता अपनाउन र प्रशासनको आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ।