सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको झलारीका होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने चिल्लो पदार्थमा ‘ट्रान्सफ्याट’को मात्रा उच्च

२०८२ भदौ २४, १०:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बनाइने परिकारमा हानिकारक चिल्लो पदार्थको प्रयोग हुने गरेको पाइएको छ।

बजार अनुगमनका क्रममा ‘ट्रान्सफ्याट’ (ठोस चिल्लो पदार्थ)को मात्रा उच्च रहेको पाइएको हो। धनगढीस्थित खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका नायब प्राविधिक सहायक तोयनाथ ओझाका अनुसार होटलमा खानाका परिकार बनाउन प्रयोग हुने तेललाई धेरैपटक तताएर प्रयोगमा ल्याउने गरिएको पाइएको छ।

'तेललाई जतिपटक तताइन्छ ‘स्याचुरेटेड फ्याट’ वृद्धि हँुदै जान्छ, त्यस्तो तेल स्वास्थ्यका निकै हानिकारक हुन्छ', उनले भने। ‘टोटल पोलर मिटर’ (टिपिएम)को मद्दतले होटलमा खाना नास्ताका परिकार बनाउन प्रयोग हुने तेल परीक्षणको कार्य गरिएको छ। 

जसमा तेलको टिएम भ्यालु उच्च देखिएको छ। “टिएम भ्यालु २० सम्म आएमा त्यसलाई सामान्य मानिन्छ', नायब प्राविधिक सहायक ओझाले भने, 'भ्यालु २१ देखि २४ सम्मलाई चेतनावनी तह र २५ भन्दामाथि आएमा हानिकारक विषसमान मानिन्छ।'

उहाँका अनुसार अनुगमन गरिएकामध्ये आधाभन्दा बढी होटल र रेष्टुरेन्टमा तेलको टिएम भ्यालु २५ भन्दामाथि देखिएको छ। खाद्य पदार्थ बनाउन प्रयोग हुने तेललाई पुनः तताउने र त्यसकै माथि अरु तेल खन्याएर खाद्य पदार्थ बनाउँदा समस्या देखिएको उनको भनाइ छ। 

वनस्पति तेललाई एकपटक प्रयोग गरेपछि दोस्रोपटक दोहोर्याएर प्रयोग गर्न नमिल्ने उनले बताए। ट्रान्सफ्याट तेलको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन गर्दा मुटु, रक्तनली, मिर्गौला, मस्तिष्कमा गम्भीर असर पुर्याउने कार्यसँगै रगतलाई बाक्लो बनाउने, उच्च रक्तचापको समस्या निम्त्याउने र ह्दयघातको समस्या निम्त्याई मृत्युदरलाई बढाउने गरेको पाइएको उनले उल्लेख गरे। 

बजारमा यस्ता ट्रान्सफ्याटको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन नगर्नु नै उचित हुने उहाँको सल्लाह रहेको छ। 'यो सँगै होटल तथा रेष्टुरेन्टहरूमा हानिकारक रङहरूको प्रयोग गरी जेरी मीठाइ, चिकेन पकौडा, रोष्टलगायत परिकार बनाइएको देखियो', उनले भने, 'ती परिकार जफत गरी नष्ट गर्न नगरपालिकाको जिम्मा लगाएका छौँ, अखाद्य रङहरूको प्रयोग गरी बनाइएका खाद्य पदार्थले ह्दयघात र क्यान्सरजस्तो प्राणघात रोग निम्त्याउने भएकाले सेवन गर्नबाट बच्नुपर्छ।' 'धेरै होटेलहरूमा बनाइएका परिकार राख्न र छोप्नका लागि अखबारको प्रयोग भएको पाइएको छ, अखबार छाप्न प्रयोग भएकोे रङ खाद्य पदार्थमा लाग्ने भएकाले त्यो पनि निकै हानिकारक रहेको छ', उनले भने। 

कमेन्ट लोड गर्नुस