सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भईरल ज्वरो र रुघाखोकीका बिरामी बढे

२०८२ भदौ २२, ०४:४८ खबर संवाददाता

बैतडीः मौसममा आएको परिवर्तनसंगै बैतडीका गाउँ–गाउँमा भाइरल ज्वरो र रुघा खोकीका बिरामी बढेका छन्। 

अहिले गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । पहिलाको तुलनामा हिजोआज ज्वरोका बिरामी बढेका उनले बताए।

स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैले जानकारी दिए।

यस्तै जिल्लाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश ज्वरोका बिरामी रहेका केन्द्रका प्रमुख, जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए। प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७० जना जति बिरामी आउने गरेको र ती मध्ये आधाजति भाइरल ज्वरोका बिरामी रहेका भट्टले बताए।

जिल्ला अस्पताल बैतडीको तथ्यांक हेर्दा यो महिना भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। अस्पतालमा दैनिक ४० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए। यसका साथै डेङ्गी र स्क्रबटाइफसको संक्रमण भएका बिरामीहरु समेत आउने गरेको उनले बताए।

भाइरल ज्वरोका बिरामीहरुमा ज्वरो बढ्ने,चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाँच्छिऊ आउने, नाकबाट पानी आउने, टाउको, शरीर तथा हाडजोर्नी दुख्ने लक्षण रहेका बताइएको छ।

मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेकोले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।
 

कमेन्ट लोड गर्नुस