अपि नाम्पा संरक्षण परिषद् अधुरो : पाँचवर्षे कार्ययोजना अलपत्र
दार्चुलाः अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा यहाँको पञ्चवर्षीय कार्ययोजना लामो समयदेखि स्वीकृत हुन सकेको छैन। कार्ययोजना अभावले संरक्षण क्षेत्रमा आवश्यक कार्यक्रम अघि बढ्न नसकेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले जानकारी दिए।
सन् २०१० ९वि।सं। २०६७० मा स्थापना गरिएको अपि नाम्पा संरक्षण क्षेत्रमा २०७२ सालमा परिषद् गठन गरी पहिलोपटक पाँचवर्षीय कार्ययोजना लागू गरिएको थियो। तर सो योजनाको म्याद २०७७ साउनमा सकिएपछि नयाँ योजना अनुमोदन हुन सकेको छैन।
वार्डेन झाका अनुसार कानुनतः परिषद्को निर्णयसहित पेस गरिने वार्षिक तथा दीर्घकालीन योजना स्वीकृत भएपछि मात्र संरक्षण क्षेत्रमा कार्यक्रम कार्यान्वयन गर्न पाइन्छ। योजना अलपत्र हुँदा संरक्षण सामुदायिक वनमा उत्पादन हुने जडीबुटी र अन्य वन पैदावार व्यवस्थापन तथा उपयोग हुन नसकेर खेर गइरहेका छन्।
गत चैतदेखि सुरु भएको टोल समूह गठन प्रक्रिया अझै अधुरो छ। विभागले समयसमयमा परिषद् पुनर्गठनको मौखिक आदेश दिए पनि प्रक्रिया ढिलो गतिमा अघि बढेकाले स्थानीयहरूले असन्तुष्टि जनाएका छन्।