ट्विटर (एक्स) सञ्चार मन्त्रालयको सम्पर्कमा, फेसबुकले अझै सम्पर्क गरेन
धनगढीः सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल 'एक्स' अर्थात् ट्विटर सम्पर्कमा आएको छ।
ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए। उनका अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको छ।
फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारीदिए। फेसबुकले पनि सम्पर्क गरेको भन्नेबारे अहिलेसम्म बाहिर आएका विषयमा सत्यता नरहेको उनले बताए।
अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्नेसमेत सञ्चार मनलयका प्रवक्ता ठाकुरले बताए।
विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।