सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडामा गौरा उत्सव

२०८२ भदौ १८, ०४:३८ खबर संवाददाता

टोरन्टोः सुदूरपश्चिम समाज क्यानडाले टोरोन्टो स्कारबोरोस्थित मकवान पार्कमा देउडा र गौरा पर्वको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले नेपालको सुदूरपश्चिम क्षेत्रबाट क्यानडामा उच्च शिक्षा हाँसिल गर्न आएका नयाँ विद्यार्थी र क्यानडा भ्रमणमा आएका अभिभावक तथा आगन्तुकहरुलाई पनि स्वागत एवं सम्मान गरेको छ।

परम्परागत गीत, प्रश्न–उत्तर शैलीको देउडा समूह नृत्यले भरिएको कार्यक्रममा नेपालबाट क्यानडा आएका सुदूरपश्चिम क्षेत्रका नेपालीका साथसाथै अन्य धेरै नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमले केवल मनोरञ्जन मात्र होइन, क्यानडामा सुदूरपश्चिम प्रदेशको सांस्कृतिक पहिचान जोगाउँदै विद्यार्थी र नयाँ आगन्तुकका माझ पारस्परिक सहयोगलाई बढावा दिने एउटा साझा मंच प्रदान गरेको राय कार्यक्रममा सहभागीहरूले व्यक्त गरेका छ्न्।

नेपाली सुदूरपश्चिम प्रदेशको सताब्दिऔँ पुरानो लोकपरम्परा देउडा (घेरिएर गाइने–नाचिने सामूहिक शैली) हो, जसमा छन्द÷पंक्तिहरू एक–अर्कालाई प्रत्युत्तर दिँदै अघि बढ्छन् । यो प्रायः गौरा पर्वसँग सम्बद्ध हुन्छ भगवान शिव–पार्वतीको पूजासम्बन्धी यो पर्व सामान्यतया वर्षायाम (मनसुन) को अन्त्यतिर मनाइन्छ, जहाँ भक्तिपूर्ण संगीत, नृत्य र सामुदायिक भोजनका माध्यमबाट सबै व्यक्तिहरू एक ठाउँ मा भेला हुन्छन।

दिप केसीको संयोजन, भोज ल फर्मको समन्वय तथा नेपाली विद्यार्थी आशु पाण्डेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमले क्यानडा टोरोन्टोमा बसोबास गर्ने सुदुरपश्चिमेली नेपालीहरुको न्यास्रोलाई मेटाउने र उनीहरूको परम्परा र संस्कृतिलाई निरन्तरता दिने काम गरेको छ। यस्तो खालको थालनीले देउडा र गौरा पर्व जस्ता परम्परागत पर्व एवं सांस्कृतिक नृत्य प्रवासमा रहेका नेपाली नयाँ पुस्तामा पुस्तान्तरण हुने वातावरण तयार प्रदान गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम समुदायका अगुवा प्रतिनिधि तथा क्यानडाका बैरिस्टर, सोलिसिटर तथा नोटरी पब्लिक भोजराज भट्टले सुदूरपश्चिम समाज क्यानडालाई सांस्कृतिक समूहभन्दा अघि बढेर नयाँ विद्यार्थी, आप्रवासी नेपालीहरूका लागि मार्गदर्शक ‘हब’ को रूपमा उभिन आग्रह गरेका छन्। यथार्थपरक सूचना र गलत सल्लाहको बीचको भुमरीमा अल्झिएका व्यक्तिहरूलाई ठोस सहयोग पु¥याउन संस्थाले भूमिका खेल्नु पर्नेमा पनि वहाँले बिशेष जोड दिए।

नेपाली जनसम्पर्क समिति क्यानडाका वरिष्ठ उपाध्यक्ष निरन्जन थापाले आउने दिनमा सुदूरपश्चिम समाज क्यानडासँग हातेमालो गर्दै काम गर्ने र व्यक्तिगत रूपमा पनि साथ दिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्। समाजसेवी कर्ण बटालाले शुभकामना दिँदै, सुदूरपश्चिम समाज क्यानडाले नेपालको पश्चिम क्षेत्रसँग जोडिएका लगायत क्यानडाभरिका नेपालीहरूलाई एउटै छातामुनी जोड्नेमा आफू विश्वस्त रहेको बताए।

उक्त कार्यक्रममा क्यानडास्थित विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरूले सुदूरपश्चिम समाज क्यानडाको गठन भएकोमा बधाई र शुभकामना दिनु भएको थियो। एनसीसीएस क्यानडाकाका चेयर पर्सन डा. थमनाथ अधिकारीले यस्तो किसिमको सांस्कृतिक पर्वको आयोजना गरेकोका आयोजकलाई धन्यवाद दिँदै आफ्नो संस्था एनसीसीएस मार्फत सुदूरपश्चिम समाज क्यानडालाई आवश्यक संस्थागत सहयोग सदैव जारी रहने प्रतिबद्धता जनाए।

कार्यक्रम संयोजक दीप केसीले आगामी दिनहरूमा पनि यस प्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गरी क्यानडामा बसोबास गर्ने नेपाली समुदायलाई पुनः जोड्ने, आपसी एकता मजबुत पार्ने साथै संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने कार्यलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित सबैका लागि निःशुल्क भोजनको व्यवस्था पनि गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस