बैतडीका स्थानीय तहमा औषधी खरिदमा अनियमितता
धनगढीः बैतडीका स्थानीय तहले औषधी खरिदमा अनियमितता गर्ने गरेको पाइएको छ । बैतडीका १० वटा स्थानीय तहले ऐन कानुन मिचेर खुला प्रतिस्पर्धा नगरेर सोझै औषधी खरिद गर्ने गरेको, बजेट टुक्रा गरेर औषधी किन्ने गरेको, औषधीको उत्पादन मिति, ब्याच र नेपाल गुणस्तर चिह्न यकिन नभएको औषधी किन्ने गरेको पाइएको हो।
डिलासैनी गाउँपालिकाले गत आर्थिक वर्षमा बजेट टुक्रा पारेर विभिन्न आपूर्तिकर्तासँग १८ लाख २४ हजार रुपियाँको औषधी सोझै खरिद गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखाले प्रसूति केन्द्रमा वितरण गर्न खरिद गरेको चार लाख रुपियाँको न्यानो झोलाको गुणस्तर र लागत अनुमानमाथि पनि टिप्पणी गरेको छ ।
दोगडाकेदार गाउँपालिकाले विभिन्न सात वटा आपूर्तिकर्तासँग १९ लाख ६१ हजार रुपियाँ मूल्य बराबरको औषधी सोझै खरिद गर्दा निर्धारित म्याद नहुँदा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएकाले आपूर्तिकर्तामाथि अनुगमन गरेर आवश्यक कदम चाल्न महालेखाले टिप्पणी गरेको छ ।
बैतडीका १० वटा स्थानीय तहले आव २०८०/८१ मा अढाई करोड रुपियाँभन्दा बढीको औषधी सोझै खरिद गरेका छन् । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाले २७ लाख ८२ हजार ४०३ रुपियाँको औषधी खरिद गरेर पालिकामा ल्याइएका ३७ हजार ७७ औषधीका प्याकेट म्याद समाप्त भएको भेटिएको महालेखा परीक्षको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी पञ्चेश्वर गाउँपालिकाले ३३ लाख रुपियाँको औषधी खरिद गर्दा उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त हुने मिति नभएको महालेखाले जनाएको छ । प्रतिवेदन अनुसार सिगास गाउँपालिकाले ३४ लाख ४३ हजार रुपियाँको औषधी सोझै खरिद गर्दा गुणस्तर परीक्षण नगरिएकाले गुणस्तरीय औषधी भएको विश्वस्त हुने आधार नदेखिएको उल्लेख गरिएको छ ।
त्यसै गरी पुर्चौडी नगरपालिकाले खरिद मिचेर विभिन्न मितिमा औषधी आपूर्तिकर्तासँग ३२ लाख ४० हजार रुपियाँको औषधी खरिद गरेको उल्लेख छ । बजेट टुक्रा पारेर पटक पटक औषधी खरिद गर्दा ढुवानी महँगो भएको र खरिद गरेको औषधीको निर्धारित म्यादसमेत नभएको महालेखाले टिप्पणी गरेको छ । पाटन नगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेर ३२ लाख ५९ हजार ३४२ रुपियाँको औषधी सोझै खरिद गरेको प्रतिवेदनमा जनाइएको छ । खरिद गरेको अैषधीको निर्धारित म्याद नभएको महालेखाले टिप्पणी गरेको छ ।
दशरथचन्द नगरपालिकाले पनि खरिद प्रक्रिया मिचेर २१ लाख ९३ हजार ३९७ रुपियाँको औषधी सोझै खरिद गरेको छ । मेलौली नगरपालिकाले स्वाथ्यतर्फ भने कर्मचारीको पारिश्रमिकसहित दुई करोड रुपियाँ अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ । सुर्नया गाउँपालिकाले गत वर्ष ३५ लाख रुपियाँको औषधी सोझै खरिद गरे पनि मातहतका स्वास्थ्य संस्थामा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका औषधी नपाइने स्थानीयवासी देवबहादुर चन्दले गुनासो गरे। उनले आपूर्तिकर्तासँग मिलोमतोमा औषधी खरिद हुने गरेको आरोप लगाए।
अनुगमन गर्ने अधिकारी छैनन्
स्थानीय तहले खरिद गर्ने औषधीको गुणस्तर, करारमा भर्ना गरिने स्वास्थ्यकर्मीको दक्षताका विषयमा अनुगमन गर्ने निकाय र अधिकारी छैनन् । स्थानीय तहमा खोप र परिवार नियोजनका साधनको आपूर्ति गर्दै आइरहेको स्वास्थ्य कार्यालयले पालिकाको अनुगमन गर्ने अधिकार नभएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए। उनले भने,“औषधीको गुणस्तरबारे हामीलाई अनुगमन गर्ने अधिकार छैन । स्वास्थ्य क्षेत्रको व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छ । सबै तह र क्षेत्र मिलेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु पर्छ ।”