एन्फा अध्यक्ष नेम्वाङ सुदूरपश्चिम आउने, ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु हुने
धनगढी: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एएफसी) का कार्यकारिणी सदस्य पंकज बिक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक भ्रमणमा आउने भएका छन्। दुई दिने उक्त भ्रमणका क्रममा नेम्वाङले सुदूरपश्चिमका ९ जिल्लामा सञ्चालन हुने ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम छ।
फिफाको सहयोगमा नेपालभर सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका ९ जिल्लाका ९० भन्दा बढी विद्यालयमा फुटबल फर स्कुल्स परियोजना कार्यान्वयन हुने भएको छ। यसले खेलमार्फत विद्यार्थीलाई स्वस्थ, शिक्षित र अनुशासित जनशक्ति उत्पादनमा योगदान पुर्याउने बताइएको छ।
भ्रमणको पहिलो दिन भाद्र २२ गते बिहान १० बजे कञ्चनपुरको लालझाडी युवा क्लबको नव निर्मित भवनको उद्घाटन गरिनेछ। सोही दिन सो क्लबकै खेलमैदानमा कञ्चनपुर जिल्ला फुटबल संघद्वारा आयोजना गरिएको फूटबल फर स्कुल्स कार्यक्रमको पनि औपचारिक उद्घाटन हुनेछ।
त्यसपछि भाद्र २३ गते बिहान १० बजे धनगढी-१२ जुगेडास्थित मनकामना युवा क्लबको खेलमैदानमा कैलाली जिल्ला फुटबल संघको आयोजनामा फूटबल फर स्कुल्स कार्यक्रमको उद्घाटन गरिने कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले बताए। उनले यो कार्यक्रमले सुदूरपश्चिममा प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए।