बैतडीमा डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौपाया पुरिए
बैतडीः बैतडीमा डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौपाया पुरिएका छन्। परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको छ। सुर्नया गाउँपालिका –२, कठनोली (चौपाता) मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय गिरिश चन्दको आठ कोठे र रेखा चन्दको चार कोठे घरसहित पशु चौयामा पुरिएका छन्।
पहिरोमा परी ९० वर्षीय गोदावरी चन्द गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताए। दिउँसोको समयमा पहिरो खसेकाले परिवारका सदस्य भाग्न सफल भए पनि दुबै परिवारको घर, पाँचवटा गाई, चारवटा बाच्छी, १५ वटा बाख्रा पहिरोमा पुरिएको स्थानीय देवबहादुर चन्दले बताए।
विस्थापित परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । सामाजिक अगुवा चन्दले अबिर वर्सा र डोजरले सडक खन्दा पहिरो खसेको बताए। उनले पहिरो खसेको २४ घण्टासम्म नेपाल प्रहरी बाहेक गाउँपलिका प्रमुख–उपप्रुमख घटनास्थलमा नआएको गुनासो गरे।
एनले भने, “विस्थापित परिवारको सर्वस्व गुम्यो। अहिलेसम्म राज्यका नियकाय पीडित परिवारको घरमा पुग्न सकेका छैनन्।” सतबाँझ–श्रीभावर सडक खण्डबाट सुर्नयाको कठनोली ग्रामीण सडक दुई वर्षदेखि निर्माण भइरहेको छ। डोजरले जथाभावी सडक खन्दा यहाँ गएको हिउँदमा खानेपानीका मुहानसमेत पुरिएको स्थानीको गुनासो छ।