धनगढीमा सामुदायिक विद्यालय सशक्तिकरण सम्बन्धी शिक्षा सम्मेलन सम्पन्न
धनगढीः सामुदायिक विद्यालयको गुणस्तर सुधार र समान शिक्षाको प्रवद्र्धनका लागि नेपाल प्रधानाध्यापक संघ कैलालीको आयोजनामा शिक्षा सम्मेलन सम्पन्न भएको छ।
“सामुदायिक विद्यालयलाई समतामूलक र समान शिक्षाको सशक्तिकरण” भन्ने नारासहित शनिबार सम्पन्न उक्त सम्मेलन धनगढी स्थित श्री धनगढी नमुना प्राविधिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियो।
सम्मेलनमा जिल्लाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शिक्षाको गुणस्तर सुधारका लागि सरकार, शिक्षक, विद्यालय र अभिभावकबिच समन्वयात्मक प्रयास अपरिहार्य रहेको बताइन्।
विद्यालय सुधार केवल भौतिक पूर्वाधार वा शिक्षकको उपस्थिति मात्र नभई योजनाबद्ध कार्यदिशाबाट सम्भव हुने धारणा राख्दै उनले नीतिगत तहमा त्यसको सुनिश्चितताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
सो अवसरमा जिल्ला शिक्षा समन्वय इकाई कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले विद्यालयमा आउने बालबालिका विभिन्न सामाजिक र पारिवारिक चुनौतीहरूमार्फत आइपुग्ने भएकाले उनीहरूका लागि सहयोगी वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताए।
उनले हरेक बालबालिकाको फरक क्षमताको पहिचान गरि बाधा हटाउने काम विद्यालयको प्रमुख दायित्व भएको उल्लेख गरे। ज्ञवालीले विद्यालयको उद्देश्य केवल विद्यार्थी पास गराउनु मात्र नभइ, उनीहरूमा असल चरित्र र जीवन उपयोगी सीप विकास गर्नु मुख्य लक्ष्य हुनुपर्ने बताए।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा संकायका डिन डा. भवान सिंह चलाउने, जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका चौधरी भुल, त्रिनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा. सुरेन्द्र चन्द, पञ्चोदय माविका पूर्व प्रधानाध्यापक पदम सिंह कुवर, र दीपेन्द्र मावि हसुलियाका प्रधानाध्यापक विनोद भट्टराईले सामुदायिक विद्यालय सुधारका विषयमा आफ्ना धारणा प्रस्तुत गरे।
प्यानल छलफलमा विविध पक्षबाट विचार प्रस्तुत गरिएको थियो भने छलफलको सहजीकरण धनगढी उपमहानगरपालिकाका विज्ञ स्रोत व्यक्ति गणेशराज भट्टले गरेका थिए।
सम्मेलन नेपाल प्रधानाध्यापक संघ कैलालीका अध्यक्ष तर्कराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।