पहिरोले देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
बैतडीः वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ।
सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दर खाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ। आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए।