सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य बीमा समयमै नवीकरण नगरे थप शुल्क तिर्नुपर्ने

२०८२ भदौ १२, ०७:५४ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य बीमा बोर्डले बीमा समयमै नवीकरण नगर्ने परिवारलाई अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ।

बोर्डले प्रकाशित सूचनाअनुसार, बीमा सकिएको मितिदेखि तीन महिनाभित्र नवीकरण गरे मूल बीमा रकमसहित १० प्रतिशत थप शुल्क तिर्नुपर्नेछ। त्यस्तै, छ महिनाभित्र नवीकरण गरे ३० प्रतिशत, एक वर्षभित्र नवीकरण गरे ५० प्रतिशत थप शुल्क लाग्नेछ।

दुई वर्षपछि नवीकरण गर्दा बीमा रकमको तीन गुणा र तीन वर्षपछि नवीकरण गर्दा चार गुणा बराबर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। बोर्डका अनुसार, अब बीमा नवीकरण अनलाइनमार्फत (इसेवा, कनेक्ट आइपिएस, खल्ती) सजिलै गर्न सकिनेछ। नागरिकलाई समयमै बीमा नवीकरण गरी थप आर्थिक भार नपार्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस