दिपायल सिलगढीमा लोपोन्मुख अवस्थामा रहेको कपास फुल्यो
डोटीः सुदूरपश्चिम प्रदेशको डोटीस्थित दिपायल सिलगढी नगरपालिकाले लोपोन्मुख अवस्थामा पुगेको कपास खेतीलाई पुनरुत्थान गर्ने महत्त्वाकाङ्क्षी परियोजनाको थालनी गरेको छ।
यस अभियानको अग्रदूतका रूपमा शैलेश्वरी र प्रस्तावित जुनतारा कृषि समूहले वार्षिक २ लाख रुपैयाँ भाडा तिरेर सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्नाको ४६ रोपनी जमिनमा व्यावसायिक कपास खेती सुरु गरेका छन्। प्रस्तावित जुनतारा कृषि समूहकी अध्यक्ष जमुना खड्काका अनुसार वैशाखमा सामूहिक रूपमा सुरु गरिएको कपास खेती साउन/भदौ महिनामा फुल्न थालेपछि समूहमा खुसी छाएको छ।
यस परियोजनालाई सफल बनाउन विभिन्न संघ-संस्थाको महत्वपूर्ण सहयोग प्राप्त भएको दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शंकर शुचिकारले बताए।
कृषि ज्ञान केन्द्र डोटीले हाते ट्याक्टर प्रदान गरेको छ भने युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत युएन-वोमेन र आसमान नेपालको प्राविधिक सहयोग रहेको छ।
दिपायल सिलगढी नगरपालिकाको समन्वयमा ३ दिने कपास खेती तालिम दिइएको थियो।तालिम प्राप्त भएपछि शैलेश्वर महिला कृषक समूह र हाल प्रस्तावित जुनतारा समूहले कपास खेती लगाउने आट गरेका हुन। आसमान नेपालबाट बिउपुजी स्वरुप २ लाख सहयोग प्रदान गरिएको आसमान नेपालका प्रदेश संयोजक सुजन नेपालीले बताए। कपासको बीउ र आवश्यक सहयोग दिपायल सिलगढी नगरपालिकाको कृषि शाखाबाट प्राप्त भएको अध्यक्ष जमुना खड्काले बताइन।
कपास उत्पादन भएपछि बजारको चिन्ता नरहेको र नगरपालिका आफैँले उत्पादन खरिद गर्ने जिम्मा लिने भएको छ। नगर प्रमुख विजय खड्काले कपास खेतीलाई ’सपनाको बारी’ को संज्ञा दिँदै यसबाट दिपायल सिलगढी नगरपालिका सिरक र डसना उत्पादनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे। नगर प्रमुख खड्काले यो वर्ष कपास खेतीको सुरुवात मात्र गरिएको र आगामी वर्षहरूमा यसलाई कृषकहरू माझ अझ वृहत् रूपमा विस्तार गरिने योजना रहेको बताए।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिकाले सम्भवतः डोटीमा पहिलो पटक कपास खेती सुरु गरेको हो। सिरक र डसना उत्पादनमा नगर आत्मनिर्भर हुन सकेमा ठूलो धनराशि नगरभित्रै रोकिने नगरपालिकाको ठहर छ। मुलुक सङ्घीयतामा आएपछि लोपोन्मुख अवस्थामा पुगेको कपास खेतीलाई जगेर्ना गर्ने उद्देश्य दिपायल सिलगढी नगरपालिकाको प्रयास सराहनीय मानिएको छ।