सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

कैलालीमा भेटिएको नयाँ प्रजाति इन्डियन स्टार कछुवा। तस्बिरः विजयराज श्रेष्ठ
कैलालीमा भेटिएको नयाँ प्रजाति इन्डियन स्टार कछुवा। तस्बिरः विजयराज श्रेष्ठ
२०८२ भदौ १०, ०८:४०

धनगढीः कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ। खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो।

भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो प्रजातिको कछुवा यसअघि नेपालमा अभिलेख भएको थिएन। भेटिएको कछुवा नेपालका लागि नयाँ प्रजाति इन्डियन स्टार कछुवा रहेको कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताए। 'यसअघि यो प्रजातिको कछुवा नेपालमा पाइएको अभिलेख छैन' उनले थपे, 'नेपालका लागि यो नयाँ प्रजाति हो।' 

जानकी गाउँपालिका–६ स्थित कर्णाली नदीको तटीय क्षेत्रमा रहेको वनमा यो कछुवा भदौ ३ गते भेटिएको थियो। बाख्रा चराउने बालबालिकाले फेला पारेको कछुवालाई उद्धार गरेर सोही दिन प्राकृतिक बासस्थानमा छोडिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कैलाशेश्वर र जगतपुर सामुदायिक वन क्षेत्र आसपासमा कछुवा भेटिएको थियो। संयोगवस आफूसहित जगतपुरका दुई स्थानीय ओतको बासस्थान पत्ता लगाउन वनमा गएको बेला बालबालिकाले अनौथो किसिमको कछुवा भेटाएको देखेपछि उद्धार गरेर वनमै छाडेको श्रेष्ठले बताए। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइसिएन) को रातो सूचीमा रहेको इन्डियन स्टार कछुवा संवेदनशील प्रजाति मानिन्छ। 

कमेन्ट लोड गर्नुस