होटेल व्यवसायीहरुद्धारा धनगढीमा रात्रिकालीन व्यवसाय सञ्चालनको माग
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रिकालीन व्यवसाय सञ्चालनको माग तीव्र हुँदै गएको छ।
स्थानीय होटेल तथा पर्यटन व्यवसायीहरूले आर्थिक मन्दीको अवस्था र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै कम्तीमा राति १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति दिन प्रशासनसँग आग्रह गरेका छन्। हाल धनगढीमा अधिकांश होटेल तथा रेस्टुरेन्टहरूलाई बेलुकी १० बजेसम्म मात्र सञ्चालनको अनुमति छ भने केही डान्स बारहरूलाई राति १२ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ।
यद्यपि, होटेल व्यवसायीहरू यो समय सीमा पर्याप्त नभएको बताउँदै आएका छन्। उनीहरूका अनुसार अहिलेको समय सीमा व्यवसाय सञ्चालनका लागि अपर्याप्त मात्र नभई पर्यटक र ग्राहकलाई सेवा दिनसमेत कठिनाइ हुने खालको छ।
होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले प्रशासनसँग लामो समयदेखि व्यवसायलाई पूर्णकालीन, अर्थात् २४ घण्टा सञ्चालनको अनुमति दिन आग्रह गर्दै आएको बताए। “हामीले पहिलेदेखि नै पूर्णकालीन व्यवसायको माग गर्दै आएका छौँ,“अध्यक्ष पाण्डेयले भने, “त्यो सम्भव नभए पनि कम्तीमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ।“यता, नाटाका सुदूरपश्चिम अध्यक्ष पदमविक्रम सिंहले पनि होटेल व्यवसायलाई सहज बनाउन र पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न रात्रिकालीन सञ्चालन आवश्यक भएको बताएका छन्।
“हामी पर्यटक र आम नागरिकलाई सेवा दिने उद्देश्यले होटेल सञ्चालन गर्दै आएका छौँ,“उनले भने,“तर हालको समय सीमाका कारण व्यवसायमा कठिनाइ भइरहेको छ। “व्यवसायीहरूको तर्क छ कि रात्रिकालीन व्यवसायको अनुमति प्राप्त भएमा भारतीय पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ। यसले होटेल उद्योगमा प्रत्यक्ष आर्थिक लाभ पु¥याउने मात्र नभई सम्पूर्ण क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान दिनेछ।
यसैबिच, भर्खरै कैलालीमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले रात्रिकालीन व्यवसाय सञ्चालनको मागबारे सामान्य चर्चा भएको जानकारी दिएका छन्। “सम्बन्धित पक्षसँग छलफल गरेपछि मात्रै निर्णयमा पुग्नेछु,“उनले प्रतिक्रिया दिए। व्यवसायीहरूको मागलाई लिएर आगामी दिनमा प्रशासनले कस्तो निर्णय लिन्छ भन्ने चासो व्यवसायीहरूबिच बढ्दो छ।