सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयः यस्तो छ संघर्षको समयसारिणी

२०८२ भदौ ९, ०२:०५ नारायण अवस्थी


धनगढीः सुदूरपश्चिमको गेटामा स्वास्थ्य जनशक्ति उत्पादन हुनुपर्ने माग २०४८ सालदेखि उठ्दै आएको हो।

३४ वर्ष लामो संघर्षपछि २०८२ जेठ ४ मा प्रतिनिधिसभाबाट विधेयक पारित भई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विश्वविद्यालय कानुनीरूपमा मूर्त भएको छ। तर ऐन लागू भएको करिब दुई महिना पुग्दासम्म पनि विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढ्न नसक्दा स्थानीयवासी फेरि संशकित भएका छन्।

संघर्षको कालक्रम
सर्वप्रथम २०४८ साल सुदूरपश्चिममा पनि मेडिकल कलेज स्थापना गर्नुपर्ने औपचारिक माग उठ्यो। राष्ट्रिय स्वास्थ्य निति तर्जुमा गर्दा तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा कम्तिमा एउटा मेडिकल कलेज खोल्ने उल्लेख गरिएको थियो।

त्यसपछि २०४९ सालमा शंकराचार्यका प्रतिनिधि कैलालीमा आएर गेटामा मेडिकल कलेज खोल्ने कामको सम्भाव्यता अध्ययन गरिएको थियो। २०५६ सालमा शंकराचार्य धनगढी आएर गेटामा मेडिकल कलेजको शिलान्यास गर्ने काम भएको थियो। लक्ष्मी कथ्या उद्योग नजिकै निर्माण भएको भवन अहिले गोदावरी नगरपालिकाले प्रयोग गरिरहेको छ। शंकराचार्यले मेडिकल कलेज शिलान्यास गरेर निर्माणको काम भइरहेको समयमै सुदूरपश्चिममा पनि माओवादी विद्रोह भैलियो। मेडिकल कलेजको पूर्वाधार निर्माण रोकिनुको एक कारण माओवादी द्वन्दसमेत थियो।

सुदूरपश्चिमेलीहरूले गेटामा मेडिकल शिक्षा अध्ययन र उच्चस्तरीय स्वास्थ्य उपचारको अभिलाशा राखेको हाल ३४ वर्ष पूरा भएको छ। युवावयमा यो माग उठाउने नागरिक मध्ये धेरैको उमेर वृद्धावस्थामा पुगेको छ। बाजे पुस्ताले राज्यसँग राखेको मागका लागि अहिले नाति पुस्ता सडकमा उत्रनु परेको छ। तर राज्यले भने सुदूरको यो मागलाई सार्दै र टार्दै आएको छ। बल्लतल्ल निर्माण भएका संरचना कति दिनसम्म निर्जन रहने हुन् भन्ने संशय सुदूरवासीको मनमा छ।

कैलाली उद्योग वाणिज्य संघको पहल
२०६३ सालसम्म माओवादी द्वन्दले प्रभावित भएको मेडिकल कलेजको माग कैलाली उद्योग वाणिज्य संघले व्युताउने काम गर्‍यो। २०६३ मा उद्योग वाणिज्य संघले कैलाली महोत्सव आयोजना गरेर राज्यसँग विभिन्न २२ वटा माग  राखेको थियो। उद्योग वाणिज्य संघले राखेको माग मध्ये मेडिकल कलेजको माग एक नम्बरमा राखियो। हरेक वर्ष सुदूरपश्चिमका माग ज्ञापनपत्रमा लिपिबद्ध गरेर सरकार तथा दलका शिर्ष नेताहरूको ध्यानाकर्षण गराउने कामको थालनी भयो।

केही वर्ष सेलाएको मुद्दा व्युताउने काम कैलाली उद्योग वाणिज्य संघले गरेको हो। त्यसबेला उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष हालका धनगढीका नगर प्रमुख गोपाल हमाल थिए। २०६३ साल मंसिरमा आयोजना गरिएको महोत्सवको पहिलो माग पत्र पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो। यसरी गेटामा मेडिकल कलेजको स्थापना हुनुपर्ने आन्दोलनलाई १९ वर्ष अगाडि कैलाली उद्योग वाणिज्य संघले संस्थागत स्वरूप दिएको थियो।

७० को दशकमा के भयो?
सरकारले ७० को दशकमा गेटामा मेडिकल कलेजका लागि पूर्वाधार विकासको काम सुरू भएको हो।

२०७९ मा जग्गा अधिग्रहण गरेर २०७० मा पूर्वाधार निर्माणको काम सुरू भएको हो। अहिले करिब ७ अर्ब रुपैयाँ लागतमा ६ सय शय्याको अस्पताल, कलेज भवन र प्रशासनिक भवन लगायतका ४३ भन्दा बढी संरचना बनेका छन्। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारले २०७९ मा निर्णय गरेको हो।

२०८० कात्तिक १ गते  गेटामा स्वास्थ्य मन्त्रालय अन्तर्गत ५० शय्याको अस्पताल सञ्चालनमा आयो। २०७५ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि विधेयक ल्याएको सरकारले २०८० सालमा भने विश्वविद्यालय विधेयक तर्जुमा गरेको हो। २०८२ जेठ ४ मा प्रतिनिधिसभाले उक्त विधेयक पारित गरी सोही दिन राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए। उक्त ऐन २०८२ असार ४ मा राजपत्रमा प्रकाशित भयो। २०८२ साउन–भदौ, दुई महिना बित्नै लाग्दा पनि विश्वविद्यालय सभाको गठन, पदाधिकारी नियुक्ति र इकाइ स्थापना हुन सकेको छैन।

संघर्ष समितिको दबाब
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन ढिलाइ गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

'सुदूरपश्चिमका जनताको जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित आयोजनालाई तत्काल गतिशील बनाउन आवश्यक बजेट, जनशक्ति र उपकरण उपलब्ध गराउन जरुरी छ,' उनले भने। समितिले मुख्यमन्त्री कमलबहादुर शाह र संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्मरणपत्र बुझाउँदै यसै आर्थिक वर्षभित्र एमबीबीएसका लागि सिट संख्या निर्धारण गर्न र ६ सय शय्याको संरचनालाई कम्तीमा ३ सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्न माग गरेको छ।

विद्यार्थी र बिरामीको आवाज
गेटामा एमबीबीएसको पढाइ हुनुपर्ने आवाज सबैले उठाएका छन्।

सुदूरपश्चिमका २८ लाख जनताले गेटामा पूर्ण क्षमतामा अस्पताल सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन। यस्तै एमबीबीएसको पढाइ यथाशीघ्र सुरू गर्नुपर्ने गेटाकै विद्यार्थी प्रज्ञा जोशीले भनिन्। '३४ वर्ष संघर्ष गरेर ऐन त आयो, तर पढ्न पाउने समय अझै अनिश्चित छ। हामीलाई राजधानी धाउनुपर्ने बाध्यता हटोस् भनेर विश्वविद्यालय चाहिएको हो। अब ढिलाइ भए सपनै अधुरो हुने डर छ।'

त्यस्तै, कैलाली बर्दगोरीयाका ६५ वर्षीय नरबहादुर चौधरी गुनासो छ, 'यत्रो ठूलो भवन देखिन्छ, तर उपचार गर्न जाँदा सुविधा छैन।  उपचार र परीक्षण  गर्न धनगढी या काठमाडौं पठाइन्छ। हामी जस्ता गरिबलाई राजधानी धाउनु निकै महँगो पर्छ।'
संरचना जीर्ण हुँदै
करिब ७ अर्ब रुपैयाँको लगानीमा बनेका ४३ संरचना लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन्।

५० शय्याको अस्पताल सञ्चालनमा भए पनि शिक्षण अस्पतालका लागि बनेका आलिशान भवनहरू खाली छन्। ती भवनहरूमा माकुराको जालो लागेको छ भने रङ खुइलिन लागेको छ।

टिकटक हटस्पट बनेको अस्पताल
विश्वविद्यालय सञ्चालनमा ढिलाइ हुँदा गेटा अस्पताल परिसर अहिले टिकटक बनाउनेहरूको ‘हटस्पट’ बनेको छ। गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार भीड बढेपछि अस्पताल हाताभित्र अनावश्यक भिड नगर्न सार्वजनिक सूचना जारी गर्नुपरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस