बन्धक दाजु, बहिनीको अनन्त प्रतीक्षा र संघर्ष
बिमल सी: नेपाल सगरमाथाको र गौतम बुद्धको भूमि हो—शान्ति, साहस र सपना बोकेका सन्तानहरूको धर्ती। यही धर्तीका एक साधारण किसान परिवारका असाधारण सपना बोकेका युवा हुन् विपिन जोशी। उनी केवल कृषि पढ्न गएका थिए, तर उनको मनमा ठूलो लक्ष्य थियो—नेपाललाई हरित क्रान्तितर्फ डोर्याउने। तर नियतिको खेल यति निर्दयी भयो कि सपना साकार गर्नु त टाढाको कुरा, जीवन नै अपहरणमा पर्न पुग्यो।
सन् २०२३ अक्टोबरमा भड्किएको हमास–इजरायल युद्ध विपिनलाई बन्धक बनाएर लग्यो। पढ्न गएका एक साधारण विद्यार्थीलाई राजनीतिक खेल र हिंसाको नाङ्गो नृत्यले अचानक युद्धकैदीमा रूपान्तरण गरिदियो। अहिले उनी अँध्यारा सुरुङमा छन्—जहाँ घाम पुग्दैन, केवल भोक, डर, धम्की र अन्यौल मात्र छ। तर शायद उनको मनमा एउटा मात्र आशा अझै बाँकी छ होला—कुनै दिन परिवारसँग भेटिने।
यता घरमा समय थामिएजस्तो छ। आँगन सुनसान छ, कुर्सी खाली छ, थालमा रोटीको अंश छुट्टै राखिन्छ, तर त्यो सधैं खाली रहन्छ। बुबा–आमाको कपालमा समयभन्दा अघि सेतो हिउँ झरेको छ। र बहिनी पुष्पा, जसको दिन आँसुमै डुब्छ। प्रत्येक बिहान उनको मनमा एउटा प्रश्न उठ्छ—“दाइ फर्किन्छन् कि?” अनि प्रत्येक साँझ त्यो प्रश्न फेरि अनुत्तरित रहन्छ।
पुष्पाले केवल आँसु होइन, आवाज पनि उठाइन्। युद्धभूमिसम्म पुगेर उनले संसारलाई सम्बोधन गरिन्—“Release Bipin! We cannot live without him.”त्यो केवल एउटा युवतीको पीडा मात्र थिएन, त्यो सयौँ परिवारहरूको सामूहिक पुकार थियो। जब शब्दहरूले काम गरेनन्, आँसुले भाषा बोकेको थियो।
उनको प्रश्न केवल हमासलाई मात्र थिएन, नेपाल सरकारलाई पनि थियो, संयुक्त राष्ट्रसंघलाई पनि थियो, शक्तिशाली राष्ट्रहरूलाई पनि थियो। के निर्दोष नागरिकको जीवनको कुनै मूल्य छैन? नागरिक बेपत्ता हुँदा सरकार मौन किन बस्छ? मानव अधिकारका ठूला नारा दिनेहरू बहिरा किन बनेका छन्?
यी प्रश्न अझै अनुत्तरित छन्। तर यिनै प्रश्नहरूले हामीलाई सोच्न बाध्य बनाउँछन्—मानव सभ्यता कता जाँदैछ? यदि राज्य आफ्ना नागरिकलाई सुरक्षित राख्न असफल हुन्छ भने त्यस राज्यको अर्थ के रहन्छ?विपिनकी बहिनी पुष्पा आज केवल एक परिवारकी प्रतिनिधि होइनिन्। उनी आज नेपाल राष्ट्रकै स्वर हुन्। उनको आँसुमा हजारौँ परिवारको पीडा घुलिएको छ, उनको आवाजमा हजारौँ निर्दोषको जीवन बाँच्ने आकांक्षा मिसिएको छ।
हामी युद्धको समर्थन गर्दैनौं। हामी कुनै राजनीतिक वा साम्राज्यवादी खेलको पक्षमा छैनौं। हाम्रो माग सरल छ—निर्दोषलाई रिहा गरियोस्। जीवनलाई बचाइयोस्। एक दिन विपिन फर्कनेछन् भन्ने आशा अझै बाँकी छ। त्यो क्षण केवल एउटा परिवारको खुसीमा सीमित हुने छैन। त्यो नेपाल राष्ट्रकै आत्मसम्मान पुनर्जीवित हुने क्षण हुनेछ। अन्यायमाथि न्यायको विजय घोषणा हुनेछ।
त्यस दिन हामी ठाडो टाउको उठाएर भन्न सक्नेछौं—निर्दोषलाई बन्धक बनाउने अपराधीको अन्त्य भयो। मानवताको आवाज दबाउन सकिँदैन। नेपाली युवाको साहस कहिल्यै मर्दैन।